प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्विजेशन गर्ने



काठमाडौं । कमलपोखरी काठमाडौंमा स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले पोखरा कास्की चिप्लेढुंगा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति – (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गरे ।

केन्द्रीय नियमनकारी निकाय, श्री नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको छ ।

ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ ।

असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ ।


क्लिकमान्डु