पर्यटन मन्त्रालयका आयोजनाः मेलाले रोक्यो काम !




काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा मातहतका आयोजनाको अवस्था सन्तोषजनक नरहेको पाइएको छ ।

केही आयोजनाको प्रगति सन्तोषजनक भएपनि अधिकांश आयोजनाको अवस्था भने राम्रो छैन ।

सधै समस्यामा लुम्बिनी विकास कोष
जनशक्तिको अभाव, अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसारको स्रोत प्राप्त हुन नसकेको, स्थानीको समेत सहयोग प्राप्त नभएका कारण लुम्बिनी विकास कोषको प्रगति उत्साहजनक नभएको पाइएको हो । सो परियोजनाका लागि गत आर्थिक वर्षमा ६ अर्ब १० करोड बजेट विनियोजन भएको भएपनि ७१ करोड ९४ लाख मात्रै खर्च भएको छ ।

कर्मचारीको उपलब्धताका कारण पनि समस्या भोगेको बताएर कोषले लोक सेवा आयोगलाई कर्मचारी व्यवस्थापन गरिदिन भनेको भएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । उक्त कोष चरम राजनीतिमा फसेका कारण पनि समस्या बल्झिएको छ । कोहीले कसैलाई नटर्ने, जवाफदेहिताको अभाव समेत देखिएको छ ।

उस्तै पशुपति क्षेत्र विकास कोष
यस्तै सोही मन्त्रालय मातहत रहेको पशुपति क्षेत्र विकास कोषको अवस्था पनि उस्तै छ । सो आयोजनाका लागि सरकारले २ अर्ब ३ करोड बजेट विनियोजन गरेको भएपनि गत आर्थिक वर्षको अन्तय अर्थात् असार मसान्तसम्म मात्रै ४४ करोड ४१ लाख बजेट मात्रै खर्च भएको छ ।

विगत १० वर्षदेखि अगाडि बढाइएको भनिएको सो परियोजनाको भोतिक प्रगति मात्रै ४० प्रतिशत रहेको छ ।

दक्ष जनशक्तिको अभाव, मासिक पर्ने मेला, पर्व आदिका कारण पनि काम गर्न नसकिएको दावी गरिएको छ ।

यस्तै परम्परागत निर्माण सामग्रीको अभावलाई पनि अर्को कारणको रुपमा देखाइएको छ । तर समस्या समाधानका लागि कुनै पनि देखिने गरी प्रयास हुन सकेको छैन ।

संगठन तगा व्यवस्थापन सर्वेक्षण गरिएको र सेवा करारको प्रक्रिया अगाडि बढाइएको भएपनि हालसम्म दक्ष जनशक्तिको परिपूर्ति हुन सकेको छैन ।

निजगढ विमानस्थल उस्तै
यस्तै सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि अन्य आयोजनाको जस्तै रहेको छ । सो आयोजनाका लागि १ अर्ब २० करोड बजेट विनियोजन भएकोमा १ अर्ब २ करोड बजेट खर्च भएको उल्लेख गरिएको छ ।

तर, कुन शीर्षकमा कसरी र के कामका लागि खर्च भयो भन्ने कुनै पनि विवरण प्राप्त हुन सकेको छैन । सो आयोजनाको निर्माण मोडालिटी तय हुन नसक्नु, आयोजनाका लागि पूर्व तयारी नहुनु जस्ता कारणले काम सुरु हुनै सकेको छैन ।

पोखरा क्षेत्रीय विमानस्थलको भने कूल १५ प्रतिशत प्रगति भएको छ । सो आयोजनाका लागि गत आवमा ४ अर्ब ५३ करोड बजेट खर्च भएको छ ।


क्लिकमान्डु