मकवानपुरको विकट गाउँमा निर्मूल होला त गाँजा खेती ?



हेटौंडा । मकवानपुरको बिकट गाउँमा किसानले गर्दैै आएको प्रतिबन्धित गाँजा खेती निर्मुल पार्नका लागि त्यसक्षेत्रका जनप्रतिनिधिले विशेष अभियान थाल्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा नगरी लागूऔषधको सेवन, नफालौं अमूल्य जीवन भन्ने नाराका साथ लागूपदार्थको उत्पादन, ओसारपसार र दुब्र्यसन नियन्त्रण सम्बन्धी अन्तरकृया कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरुले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले आफ्नो गाउँपालिकामा गाँजा र अफिम लगाउने काम हुनै नदिने बताए ।

गाँजालाई बिस्थापित गर्नका लागि केही कार्यक्रमपनि ल्याइएको र अझै अरु कार्यालयहरुको सहयोग आबश्यकता परेको बताए । यसक्षेत्रका किसानलाई बाटो सहित बिकल्प दिएमा गाँजा बिस्थापित हुनेपनि उनीहरुले बताए ।

पहिलेको तुलनामा अहिले गाँजा नगन्य मात्रामा लगाइएको समेत ती जनप्रतिनिधिहले बताए । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले जिल्लामा लागूऔषधका बिषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


क्लिकमान्डु