नेप्से परिसूचकमा सुधार, लगानीकर्ताहरु उत्साहित, यो साता १ अर्ब ४३ करोड कारोबार



काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताको पहिलो दिन बाहेक बाँकी ४ दिन बढेको छ । आइतबार १६.६९ अंकले नेप्से घटेको थियो । तर, बाँकी दिन सोमबार, मंगलबार, बुधबार र बिहीवार क्रमशः १०.४३, ६.६१, २८ र ०.६१ अंकले बढेको थियो ।

कारोबार रकम पनि बिस्तारै बढेको देखिन्छ । आइतबार २४ करोड, सोमबार १६ करोड, मंगलबार १८ करोड, बुधबार ३६ करोड र साताको अन्तिम दिन बिहीबार ४५ करोडको सेयर किनबेच भएको छ ।

यसरी हेर्दा सेयर कारोबार रकममा वृद्धि भएसँगै लगानीकर्ता थप उत्साहित भएका देखिन्छन् । साउन महिनाको अन्तिम दिनको बजार सकारात्मक देखिएकाले लगानीकर्तामा आशा पलाएको हो ।

लामो समयसम्म सुस्त बनेको नेप्से यो साता सुधार भएको छ । यो सुधारले निरन्तरता पाउने लगानीकर्ताले आशा राखेका छन् । कारोबार रकम बढ्न थालेपछि अब नेप्सेमा सुधार आउने विश्लेषकहरुको धारणा छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा यो साता १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले घटेर अन्तिम दिन १२१०.३२ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले  घटेर २५५.३८ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (सात करोड ८४ लाख रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।


क्लिकमान्डु