भारतबाट आयात भएको विद्युतको मूल्य किन लुकायो प्राधिकरणले ?




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (भदौ १ गते) ३३ औं वार्षिकोत्सव मनाउन लागेको छ ।

पछिल्लो २ वर्षदेखि आधारभूत रुपमा लोडसेडिङको अन्त्य भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड बढी खुद नाफा हुने प्रक्षेपण गरेको छ ।

भारतबाट करिब ४५० मेगावाट बराबरको विद्युत् आयात गरेको छ भने आन्तरिक रुपमा पनि सञ्चालनमा रहेका आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले आज एक प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले लामै प्रतिवेदन गोरखापत्र दैनिकमा छपाएका छन् । तर सो प्रतिवेदनमा भारतबाट विद्युत् व्यापार शीर्षकमा कति मूल्य बराबरको विद्युत् आयात भयो भन्ने बारेमा केही पनि उल्लेख गरेका छैनन् ।

कति मूल्य बराबरको विद्युत् आयात भयो भन्ने कुराको जानकारी आम रुपमा दिइनुपर्ने विषय एवम् सार्वजनिक सरोकारको विषय हो । तर प्राधिकरणले सो तथ्यांक भने लुकाएको छ । प्राधिकरण र भारत सरकारको एनटिपिसि विद्युत् व्यापार निगमसँग भएको सम्झौताअनुसार ढल्केबर बिन्दुबाट १२० मेगावाट विद्युत् आयात भएको उल्लेख छ ।

तर अन्य ६ वटा बिन्दुबाट आयात भएको विद्युत्को मात्रा कति हो भन्ने समेत लुकाइएको छ ।

तर प्राधिकरणको व्यापार शाखाले भने गत आवमा १८ अर्ब बढीको विद्युत् आयात भएको जनाएको छ । भारतबाट आयात हुने विद्युत्को औसत खरिद दर प्रतियुनिट ७ रुपैयाँ ४७ पैसा रहेको छ । भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको छ ।


क्लिकमान्डु