ढल्केबर सवस्टेसन संचालनमा, धनुषा होइन, काठमाडौंको स्यूचाटारबाटै चल्छ सवस्टेशन




काठमाडौँ । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालनमा आएको छ ।

नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सबस्टेसनको चार्ज गरी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । औपचारिक रुपमा बिहिबार रातीदेखि सो सवस्टेशन सञ्चालनमा आएको हो ।

सब स्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत आयात सुरु भएको छ । यसअघि ढल्केबर सबस्टेसन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत आयात भइरहेको थियो ।

‘ढल्केबर सबस्टेसन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, ढल्केबरमै ४००÷२२० केभीको अर्को सबस्टेसन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रै सकिनेछ,’ उनले भने ।

विद्युत आदान प्रदानका लागि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भइसकेको छ ।

सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत आयात÷निर्यातका लागि ठूलो पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभागप्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

स्वचालित भएकाले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सब स्टेसनको संचालन र अनुगमन गर्न सकिने छ । सबस्टेसनमा १६०/१६० एमभीए, २२०/१३२ केभीका दुई ट्रान्सफर्मर रहेका छन् ।

सबस्टेसन सञ्चालनमा आएपछि हिउँदको बढी विद्युत माग हुने समयमा भारतबाट थप विद्युत आयातका लागि पूर्वाधार तयार भएको छ ।

यस्तै कूल ४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा विद्युत बढी हुन गएको खण्डमा निर्यात गर्नका साथै उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्न समेत बाटो खुलेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल सो प्रसारण लाइनबाट करिव एक सय मेगावाट विद्युत आयात भइरहेको छ ।


क्लिकमान्डु