नेपालमै पहिलो पटक कला सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



काठमाडौं । पहिलो पटक नेपालमै अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । भदौ १४ गतेदेखि १६ गतेसम्म हुने विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औँ साधारण सभाको अवसरमा अन्तर्राष्ट्रिय सम्मेलनपनि हुन लागेको हो ।

अन्नपूर्ण होटलमा हुने ३७ औँ साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेनलनमा एसिया प्रसान्त क्षेत्रका विभिन्न ४५ देशबाट देशका १ सय जना भन्दाबढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा भाग लिन हालसम्म भारत, चीन, कुवेत, बंगलादेश, काजकिस्तान, उज्बेकिस्तान, अष्ट्रेलिया, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड आदि देशबाट करीब ६० जनाले नाम दर्ता गराइसकेका छन् ।

हस्तकलाको बजार प्रबद्र्धन, कलाकार तथा कालिगढहरुको क्षमता अभिवृद्धि, पर्यटन प्रवद्र्धन र सीप प्रविधि तथा आपसी अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ नेपाल हस्तकला महासंघको व्यवस्थापनमा ३७ औँ साधारण सभा हुन लागेको हो ।

सम्मेलनको अवसरमा महासंघसँग आवद्ध सदस्य हस्तशिल्पी कलाकारहरुद्वारा निर्मित कला–कृति तथा हस्तकलाका सामानहरु प्रदर्शनीमा राखिने छ । यसका साथै सम्मेलनमा सहभागी विभिन्न देशका कलाकारहरुको कला र शिल्पले भरिपूर्ण सामानहरु समेत प्रदर्शनी गरिने कार्यक्रम रहेको छ ।

प्रदर्शनीका लागि हालसम्म भारत, चीन, कुवेत, बंगलादेश, काजकिस्तान, ओमान, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड आदि मुलुकहरुबाट १२ वटा स्टल बुक भइसकेको महासंघले जानकारी दिएको छ ।

सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका हस्तकला र कृति निर्माण प्रकृया सम्वन्धी जीवन्त प्रदर्शनीपनि गरिने छ ।

यसैगरी, स्वदेशी तथा विदेशी हस्तकर्मीहरुको कलाको जीवन्त प्रदर्शनी मार्फत विविध संस्कृति, नयाँ कला, शिल्प तथा प्रविधिको आदान प्रधान गर्ने वातावरण सृजना भई यसले नपाली हस्तकलाको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महासंघको भनाइ छ ।

सम्मेलनको अवसरमा ललितपुर महानगरलाई साँस्कृतिक नगरी घोषणा गर्ने कार्यक्रम समेत रहेको छ । ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गराउन नेपाल सरकार पुरातत्व विभाग, नेपाल हस्तकला महासंघ, नेपाल हेरिटेज सोसाइटी, ललितपुर चेम्बर अफ कमर्सले सिफारिस गरेका हुन् ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ तथा अन्य विभिन्न व्यापारिक संघ संस्थाहरुका बिशिष्ट ब्यक्तिहरु गरी ३ सय जनाभन्दा बढी अतिथिहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।

१६आंै हस्तकला ब्यापार मेला हुँदै
यसैबीच, नेपाल हस्तकला महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा १६औँ हस्तकला व्यापार मेला गर्ने भएको छ ।

हस्तकला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको आन्तरिक बजार बिकास तथा निर्यात प्रबद्र्धन समेत सहयोग पु–याउने उद्देश्यका साथ कार्तिक २९ देखि मंसिर २ गतेसम्म मेला आयोजना हुनेछ ।

भृकुटीमण्डपमा आयोजना हुने मेलामा २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शन तथा विक्रीको साथै हस्तकलाका वस्तुगत प्याभिलियनहरु सहित करिब २०० स्टल रहने छन् । मेलामा उत्कृष्ट प्रदर्शनी गर्नेे एउटा स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।

५ दिनसम्म चल्ने मेलामा झण्डै १ लाख दर्शक आउने अनुमान गरिएको छ । नेपालले ८० मुलुकहरुमा ५० भन्दा बढि विभिन्न थरिका हस्तकला बस्तुहरुको १० अरबको हाराहारीमा निर्यात गर्दै आएको छ ।

आन्तरिक बजारमा हस्तकलाका बस्तुहरु करिब १० अरबको हाराहारीमा नै कारोबार रहेको अनुमान महासंघले गरेको छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दाबढी ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।


क्लिकमान्डु