कर समायोजन गर्ने सहमतिपछि रत्ननगरको आन्दोलन फिर्ता, यस्तो भयो सहमति



रत्ननगर । रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ ।

गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए ।

उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ । गएराति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ ।

आर्थिक वर्ष ०७४\७५ को करलाई आधार बनाएर करको दर समायोजन हुनेछ । “अहिले बढेको कर सोहीअनुसार नै लिने र पछि समितिले जुन दर कायम गर्छ त्यही बमोजिम कार्यान्वयन गर्ने र सेवाग्राहीबाट धेरै कर लिइएको देखिएमा पनि समायोजन या फिर्ता गर्ने सहमति भएको छ,” वडा नं ७ का वडाध्यक्ष वार्ता टोली सदस्य भट्टले जानकारी दिए ।

सहमतिपत्रमा नगरपालिकामा विलासिताका सामान नकिन्ने, पुराना सामानलाई लिलामी प्रक्रियामा लैजाने, नगरवासीमा भेदभाव नगर्ने, कानूनी प्रक्रिया पुर्याएर मात्रै कर्मचारी राख्ने, ३० लाखसम्मका योजना उपभोक्ताबाट गराइने र अरु ठूला योजना टेन्डरमार्फत् गर्ने, नगरस्तरीय दललाई उपेक्षा नगर्नेजस्ता विषयमा सहमति भएको छ ।

अस्वाभाविक रूपमा कर बढाइएको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न सात राजनीतिक दलले चार दिनदेखि आन्दोलन गर्दै आएका थिए । रासस


क्लिकमान्डु