सप्तरीको औद्योगिक क्षेत्र जलमग्न, उद्योग चल्न सकेनन्, लाखौंको क्षति



राजविराज । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ ।

पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिए । उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकललगायत कच्चा पदार्थमा समेत क्षति भएको छ ।

भारत सरकारको सहयोगमा २२ बिगाहा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

एक वर्ष अगाडि आएको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्किएको भएपनि सरकारको ध्यान नपुगेकाले सानो पानी परेको बेलापनि यहाँ जलमग्न हुने गरेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका महासचिव रामकुमार दासले बताए ।

औद्योगिक क्षेत्रमा व्यापक समस्या रहेको भन्दै हाल जलमग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब समस्या समाधान गर्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष जीवछ यादवले सरकारसँग अपिल गरे ।

हाल उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी तीन वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एसएण्डको इलेक्ट्रोड्स, पदमज्योति प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् । रासस


क्लिकमान्डु