तल्लो मोदीखोलाको उत्पादनमा ढिलार्इ, असारमा सकिएन मंसिरसम्म के होला ?



पर्वत । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ढिलार्इ भएको छ ।

असारभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्यसहित निर्माण थालिएको सो आयोजनाको काम मंसिरसम्म धकेलिएको छ । कुश्मा नगरपालिका–८ पराधिमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदीखोला स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले तोकेको समयमा सक्न ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए ।

पाँच वर्षभित्र उत्पादन शुरु गर्ने लक्ष्यका साथ सो आयोजनाको काम २०६९ साउनदेखि थालेको हो ।

“वर्षामा पहिरो जाँदा र भित्र बाढी पस्दा काममा बाधा पुग्यो,” प्रमुख यादवले भन्नुभयो । वर्षाका कारण आयोजनाको विद्युत्गृहमा काम गर्न समस्या भएको छ ।

करीब ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका प्रतिनिधि त्रैलोक्यराज चालिसेले बताउनुभयो । शुरुका वर्षमा भूकम्प र नाकाबन्दीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ ।

“कामलाई तीव्र पार्दैछौँ,” चालिसेले भने, “विद्यत्गृहसम्म पाइप विछ्याउन, टर्वाइन र जेनेरेटर जडानको काम भइरहेको छ ।” तीन अर्ब ६० करोडमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना निर्माण अघि बढाइएको हो । आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रासस


क्लिकमान्डु