रानीपोखरी पुनर्निर्माण गर्न नसकेको महानगर कमलपोखरी पुनर्निर्माणमा !



काठमाण्डौ । रानीपोखरी पुनर्निमाण गर्न नसकेको काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माण गर्ने भएको छ । महानगरले कमलपोखरी पुनर्निर्माणको लागत डिजाईन समेत तयार पारेको छ ।

महानगरले कमलपोखरी संरक्षणको जिम्मा समेत स्थानीयलाई दिने भएको छ । महानगरले कमलापोखरीको निर्माण, व्यवस्थापन तथा संरक्षणको जिम्मा स्थानीयलाई दिने बताएको छ ।

कमलपोखरी संरक्षणका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका पुरातात्वतिक संरचना पटक–पटक भत्काउने र बनाउने प्रथा अन्त्य गर्नकोलागि सम्पदा संरक्षणको जिम्मा स्थानीयलाई दिनुपर्ने बताए ।

महानगरले कमलपोखरीको हालको संरचनामा परिवर्तन गरेर नयाँ संरचनामा बनाउने प्रस्ताव गरेको छ । पटक–पटक पुनर्निर्माण गरिएको कमलपोखरी फेरी एकपटक पुनर्निर्माण गर्न थालिएको हो । कमलपोखरी पुनर्निर्माण अन्र्तगत महानगरले सहरी योजना आयोगले तयार पारेको डिजाईनमा स्थानीयले फेरबदल गर्न समेत माग गरेका छन् ।

महानगरले कमलपोखरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठमेल जाने पर्यटकलाई लोभ्याउने गन्तव्यका रुपमा विकास गर्ने योजना समेत बनाएको छ ।
कमलपोखरीको अतिक्रमित जग्गा फिर्ता ल्याउन नसकेकोमा स्थानीयवासी महानगरसंग आक्रोशित भएका छन । स्थानीयवासीले पोखरीको जमिन अतिक्रमण हुनबाट बचाउन र अतिक्रमित जग्गा फिर्ता ल्याउन कुनै पहल नगरेको गुनासो गरेका थिए ।

२०७२ को भूकम्पमा भत्किएको रानीपोखरी अझै निर्माण गर्न नसकेको महानगर रानी पोखरीको निर्माण कार्य अलपत्र छाडेर कमलपोखरी निर्माणमा लाग्ने तयारी गरिरहेको छ । रानीपोखरी पुनर्निर्माण गर्ने भन्दै रानीपोखरीका माछापनि कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।

कमलापोखरीमा भूकम्पले असर नगरेको भएपनि वास्तु शाश्त्र अनुसार निर्माण गरिने महानगनरले बताएको छ । कमलपोखरीपनि काष्ठमण्डप जसरी स्थानीयलाई अग्रपंक्तिमा राखेर पुनर्निर्माण गर्ने तयारी महानगरले गरेको छ ।


क्लिकमान्डु