कालीगण्डकी करिडोरको काम सुस्त, समयमै काम सम्पन्न गराउन ताकेता गर्छु : मुख्यमन्त्री गुरुङ



बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताएका छन् ।

जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउन चौतर्फी रुपमा ताकेता गर्नुपर्ने बताए ।

उनले गण्डकी प्रदशभित्र रहेका कालीगण्डकी करिडोर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गलगायत योजना समयमै सम्पन्न गराउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । “कालीगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई कालीगण्डकी नदीको किनारैकिनार गैंडाकोट हुँदै त्रिवेणी नाका र पोखरासँग जोड्ने गरी गृहकार्य भइरहेको छ,” गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले हालै कालीगण्डकी करिडोरको स्थलगत अनुगमन गर्नुभएको थियो । सो कार्यमा ११ निर्माण व्यवसायी कम्पनी परिचालन भएकामा चार कम्पनीले पाँच प्रतिशत पनि काम नगरेको पाइएको उनले बताए । “बहाना बनाएर काममा ढिलासुस्ती गर्नेलाई कारवाही गर्छौँ,” उनले भने ।

संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमा चासो दिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले सहजीकरण र ताकेता गर्ने नीति लिएको बताए ।

“निरन्तर अनुगमन र खबरदारीको आवश्यकता छ,” उनले भने । विकास निर्माणमा आइपर्ने अप्ठ्यारा र झण्झटलाई हटाएर लगानीमैत्री वातावरण बनाउनेतर्फ प्रदेश सरकारको ध्यान गएको उनको भनाइ थियो । रासस


क्लिकमान्डु