बच्चाले गर्भावस्थामै अंश पाउने !



काठमाडौँ । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो, तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् ।

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनुभएकी अधिवक्ता मीरा ढुंगानाले भनिन्, “समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नुप¥यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।”

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको उनको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन ।

“अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ”– वरिष्ठ अधिवक्ता पाठकले भनिन् ।

वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफैंले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उनले थपे, “आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो ।” आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ । रासस


क्लिकमान्डु