नेपाल–चीन आवतजावत बन्द, खोलाले पुलमा क्षति



रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्याएको स्थानीयवासीले बताए ।

सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।

बुटवल पाल्पा सडक अवरुद्ध

बुटवल । बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो । सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटौँ पटक हो । सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।

लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक खुल्न केही लाग्न सक्ने प्रहरीले जनाएको छ । रासस


क्लिकमान्डु