वर्ष दिनमै ठगिए २१ सय कामदार



काठमाडौं । एक वर्षकै अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने तयारीमा रहेको र गएका २१ सय २९ कामदार ठगिएका छन् ।

रोजगारीकै लागि विदेश जाने तयार भएका र गएका कामदारले आफुहरु विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीबाट ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा आफुहरु ठगीमा परेको भन्दै २१ सय २९ जनाले दाबी सहित उजुरी दिएको जनाएको छ ।

विभागका अनुसार देशमै रोजगारीको अवसर नपाउँदै वैदेशिक रोजगारीमा जाने युवाहरु ठगीने क्रम बढ्दो छ ।

गत आव मा वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग एक अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी ठगी भएको भन्दै उजुरी दिएका छन् ।

वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागले जनाएको छ । विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् । एक वर्षकै अवधिमा विभागमा व्यक्ति ठगी तर्फका ११ सय ९ उजुरी परेको थियो ।

व्यक्तिगत ठगीको तुलनामा म्यानपावर कम्पनीको ठगी कम छ । गत आवमा म्यानपवार कम्पनीबाट आफूहरु ठगीएको भन्दै उजुरी दिने युवाको संख्या भने एक हजार २० रहेको छ । म्यानपावरको ठगी पनि विगतभन्दा बढी नै छ ।

म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले विभागमा ७६ करोड ८३ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन् भने ठगीतर्फ ११ कामदारले आफूहरूसँग ७५ करोड ३७ लाख रुपैयाँ ठगी भएको दाबीसहित उजुरी गरेका छन् ।

ठगी दाबीसहित परेको उजुरीमा विभागले हालसम्म २० करोड १९ लाख रुपैयाँ रुकम कामदारलाई उपलब्ध गराएको छ ।

यसैगरी गत आवमै विभागले आठ सय ३२ वटा उजुरी छिनोफानो गरेकोे छ । विभागले गत आवमै विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीलाई ३७ लाख रुपैयाँ जरिवाना पनि तिराएको छ । साथै विभागले दुई सय ३४ वटा उजुरी वैदेशिक रोजगार न्यायधिकरणमा दायर गरेको छ ।

विभागका अनुसार म्यानपावर कम्पनीको नाममा दर्ता भएको एउटा पनि उजुरी न्यायधिकरणका गएको छ ।

तर, व्यक्तिगत ठगीतर्फका एक सय दुई सय ३४ वटा ठगीको उजुरी न्यायधिकरण गएको छ । विभागले न्याधिकरणमा लगेको ठगीका उजुरीमा ३३ करोड ६० लाख विगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।


पुष्प दुलाल