डिशहोमले किन्यो सिम टिभी, आइपिओ निष्कासन गर्ने तयारी



काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड(डिश होम) ले सिम्पल मिडिया नेटवर्क प्रालिले संचालन गरेको सिम टिभी खरिद गर्ने भएको छ ।

डिश र सिम्पल मिडिया नेटवर्क प्रालिको संचालक समितिको संयुक्त वैठकले (सिम टिभि) डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको छ ।

यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टिभिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले आजैका मितिबाट लिने भएको छ ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड डिश होम नेपालको पे टिभी इन्डष्ट्रीमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो ।

असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने जनाएका छन ।

नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।


क्लिकमान्डु