साउन २ मा चौथो व्यवस्थापन तथा आई.टी. शैक्षिक मेला हुँदै



काठमाडौं । साउन २ गतेदेखि चौथो व्यवस्थापन तथा आई.टी. शैक्षिक मेला हुने भएको छ । नेपालको शिक्षा उत्कृष्ट शिक्षा नाराका साथ आयोजना हुन लागेको यो मेला २ दिनसम्म चल्नेछ ।

अन्नपूर्ण होटलमा आयोजना हुने यो मेलामा ५५ वटा स्टल राखिने पाठशाला एजुकेशन फाउण्डेशनका निर्देशक सुवाष दंगालले जानकारी दिए ।

पाठशाला एजुकेशन फाउण्डेशनले आयोजना गरेको यो मेलामा ३८ वटा भन्दा बढी कलेजको सहभागिता रहने छ । मेला ११-१२ पढ्दै गरेका र पढाई सकेर बसिरहेका विद्यार्थीहरुका लागि धेरै उपयोगी हुने पाठशाला एजुकेशन फाउण्डेशनले जानकारी दिएको छ ।

मेलामा पोखरा विश्वविद्यालयका ९ वटा शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका ६ वटा, पूर्वाञ्चल विश्वविद्यालयका ३ वटा, काठमाडौं विश्वविद्यालयका २ वटा, मध्य पश्चिम विश्वविद्यालयका १ र २ वटा सिए र अन्य शैक्षिक संस्थानहरुको पनि सहभागिता रहने छ ।

यस्तै मेलामा बेलायत, अमेरिका, मलेसिया लगायतका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको पनि सहभागिता रहने छ ।

मेलामा आईआईएमएस कलेज, पाटन कलेज फर प्रोफेसनल स्टडिज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आई.टी., हेराल्ड कलेज, मल्पी इन्टरनेशनल कलेज लगायतका थुप्रै शैक्षिक संस्थाहरुको सहभागिता रहने छ ।

यो वर्षको शैक्षिक मेलामा ७ हजार भन्दा बढी विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको निर्देशक दंगालले जानकारी दिए ।

गत वर्षको शैक्षिक मेलामा ५ हजार ५ सय विद्यार्थीहरुको सहभागिता रहेको
थियो ।


क्लिकमान्डु