सार्क उवासंघको विधान संशोधन समितिको सभापतिमा ढकाल चयन



काठमाण्डौ । बंगलादेशको ढाकामा भैरहेको सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ ।

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो ।

विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर रहेका छन् ।

त्यसैगरी सार्क उवासंघका कार्य समिति सदस्य देशबन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन् ।

कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले संबोधन गरेका थिए ।सम्मेलनको प्रमुख आतिथ्यता बंगलादेश सरकारका उर्जा, बन तथा वातावरण मन्त्री अनिसुल इस्लाम मोहमदले गरेका थिए ।


क्लिकमान्डु