मंगलबारदेखि इन्टरनेट र फोनबाट छिरेर सरकारले काट्दैछ तपाईँको खल्ती




काठमाडौं । केही बर्षयता सुचना प्रविधि क्षेत्रमा भएको विकास र उच्च प्रतिस्पर्धाले टेलिफोन र इन्टरनेट शुल्क सस्तो भएको महसुस तपाइले गर्नुभएकै होला ।

केही बर्ष पहिला फोन काट्न हतारिने फोनकर्ता अहिले लामो कुराकानी गर्न रुचाउने गर्थे । यसको कारण पनि टेलिफोन सेवा सस्तो भएकोले नै हो ।

यस्तै विदेशमा रहेका आफन्तसँग ग्रामीण दुर दराजमा भएका ब्यक्तिहरु पनि भ्वाइस र भिडियो कल गरेर आफन्तसँगको न्यास्रो मेट्दै आएका थिए ।

यतिमात्रै होइन, विश्वविद्यालय, कलेज वा विद्यालयहरुमा पढाउँदा शिक्षक शिक्षिकाले यस्तो विषय इन्टरनेटमा पाइन्छ, खोजेर पढ्नु भनेर आफ्ना विद्यार्थीलाई सिफारिस गर्ने गर्थे ।

कतिपय स्थानमा कृषकदेखि सानोतिनो ब्यापार ब्यवसाय गर्नेहरुले आफ्नो पेशा वा ब्यवसायमा प्रविधिको प्रयोगदेखि अन्य आवश्यक जानकारीको लागि इन्टरनेट प्रयोग गर्ने गर्थे । इन्टरनेटकै माध्यमबाट विश्वका प्रमुुख घटना तथा जानकारी, आवश्यक सुचना र शीप सिक्नदेखि लिएर मनोरन्जको कार्यमा पनि इन्टरनेट प्रयोग हुदै आएको छ ।

तर, सरकारले तपाइले प्रयोग गर्ने इन्टरनेट र टेलिफोनको शुल्क बढाएर तपाइको खर्च बढाइदिएको छ । अर्थात इन्टरनेट र टेलिफोनबाट छिरेर सरकारले तपाइको खल्ती काट्दैछ ।

आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमा कर तथा शुल्कमा पुनरावलोकन गर्दै सरकारले तपाइले प्रयोग गर्ने इन्टरनेट र टेलिफोन महंगो पारिदिएको हो ।

यसअघि सरकारले तपाइले तिर्ने शुल्कमा ४ प्रतिशत रकम दुरसंचार सेवा शुल्क भनेर लिदै आएको थियो । आगामी साउन १ गते (आगामी मंगलबार) देखि यस्तो शुल्क बढेर ६ प्रतिशत भएको छ । अर्थात टेलिफोन गर्दा आज तपाइले जति पैसा तिर्नुपर्छ, आगामी मंगलबारदेखि यस्तो पैसा २ प्रतिशतले थप तिर्नुपर्नेछ ।

‘इन्टरनेट सेवा शुल्क लगाउनु उचित हुदैन भन्न अर्थमन्त्रीलाई भेट्न गएका थियौं, उहाँले यस्तो सानो विषय लिएर अर्थमन्त्रीको समय बर्वाद गर्ने भन्दै हामीलाई उल्टै हपारेर पठाउनु भयो’

इन्टरनेटमा भने योभन्दा पनि महंगो शुल्क तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्यवस्था नभएपनि आगामी साउन १ गतेदेखि १३ प्रतिशत इन्टरनेट सेवा शुल्क तिर्नुपर्ने भएको छ । अर्थात आज तपाइले इन्टरनेटको जति पैसा तिर्नुहुन्छ अबको मंगलबारदेखि यसको १३ प्रतिशत खर्च थप हुनेछ ।

सरकारले बजेट मार्फत यसरी कर बढाएपछि केही दिन अगाडि इन्टरनेट सेवा प्रदायकहरुको संस्थाका प्रतिनिधिले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर इन्टरनेट सेवा महंगो नपारिदिन आग्रह गरेका थिए । तर सो भेटमा अर्थमन्त्री डा. खतिवडाले आफूहरुलाई बेइज्जतपूर्ण ब्यवहार गरेको एक प्रतिनिधिले जानकारी दिए ।

‘इन्टरनेट सेवा शुल्क लगाउनु उचित हुदैन भन्न अर्थमन्त्रीलाई भेट्न गएका थियौं, उहाँले यस्तो सानो विषय लिएर अर्थमन्त्रीको समय बर्वाद गर्ने भन्दै हामीलाई उल्टै हपारेर पठाउनु भयो, जनताको आधारभूत आवश्यकता जस्तै बनिसकेको इन्टरनेट सेवा सरकारले नै महंगो पारेर जनतालाई महंगीको उपहार दिन्छ भने हामीले के नै गर्न सक्छौं र,’ अर्थमन्त्रीलाई केही दिन अगाडि भेटर फर्केका एक प्रतिनिधिले क्लिकमाण्डूसँग भने ।

सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत अधिकांश बस्तु तथा सेवाको कर बढाएको छ । यस्तो कर बृद्धिले जनताको दैनिक कष्टकर भएको छ । यस्तै अबस्थामा इन्टरनेट तथा टेलिफोन खर्च पनि बढ्ने भएको हो ।


क्लिकमान्डु