मौद्रिक नीतिः सीसीडी रेसियो नहट्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी-कर्जा–निक्षेपको अनुपात (सीसीडी रेसियो) नहटाउने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीसीडी रेसियो हटाउन माग गरेको थियो ।

राष्ट्र बैंकले यसैसाता आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजानिक गर्दैछ ।

अहिले बैंकहरुले संकलन गरेको कूल निक्षेपमा चुक्ता पुँजी जोडेर ८० प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउने ब्यवस्था छ । यो भनेको कुनै बाणिज्य बैंकले १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्यो भने त्यसमा उसको चुक्ता पुँजी जोड्छ । र, त्यसको ८० प्रतिशतसम्म कर्जा दिन पाउँछ ।

अहिले वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ । बैंकले उठाएको १ खर्ब निक्षेप जोड्दा १ खर्ब ८ अर्ब रुपैयाँ हुन्छ । यसरी १ खर्ब रुपैयाँ निक्षेप उठाएको बैंकले ८६ अर्ब रुपैयाँ ऋण दिन पाउँछ ।

बैंकरहरुले यो ब्यवस्था हटाएर निक्षेपको शतप्रतिशत कर्जा दिन पाउने ब्यवस्था मिलाउन माग गरेका छन् । सरकारले बजेटमा उल्लेख गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि आवश्यक कर्जा विस्तार गर्न सीसीडी रेसियो बाधक हुने तर्क राख्दै बैंकरहरुले यस्तो माग गरेका हुन् ।

तर, राष्ट्र बैंकले बैंकरहरुले माग गरेजसरी कुनै पनि हालतमा सीसीडी रेसियो घटाउन नसकिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘सीसीडी हटाउनुपर्छ भन्ने बैंकरहरुको माग कुनैपनि हालतमा पूरा गर्न सकिँदैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘सुन्दै अचम्म लाग्छ । नेपालका बैंकरहरु पनि आफूलाई अनुकुल हुने छ भने जस्तो पनि माग लिएर आउँछन् ।’

नेपालको बैंकिङ प्रणालीमा बासल थ्री लागू गर्न शुरु गरिएको छ । बासल थ्रीले सीसीडी वा सीडी रेसियो राख्न जरुरी छैन भन्छ । बैंकरहरुले बासल थ्रीको कारण देखाउँदै यस्तो माग गरेका हुन् ।

तर, बासरल थ्री लागू गर्ने हो भने निक्षेपकर्तँसँग लिएको निक्षेप फिर्ता गर्ने स्रोतको ब्यवस्था गरेर मात्रै लगानी गर्न पाउने ब्यवस्था छ भनेर भुल्नु नहुने ती अधिकारीको भनाइ छ ।

‘अहिले त राष्ट्र बैंकले सीसीडी भनेर निक्षेपको ८५/८६ प्रतिशतसम्म् कर्जा दिन पाउने खुकुलो नीति ल्याइदिएको छ,’ उनले भने, ‘बासल थ्री लागू भइसकेपछि हामी पनि सीसीडी हटाउँछौं । तर, त्यसबेला बैंकहरुले १ खर्ब निक्षेप उठाए भने बढीमा ७५ प्रतिशत अर्थात् ७५ अर्ब रुपैयाँभन्दा बढी कर्जा दिन पाउँदैनन् ।’

राष्ट्र बैंकले सीसीडी रेसियोमा उल्टो कडा गर्नुपर्ने अवस्था आएको ती अधिकारीको भनाइ थियो ।


पुष्प दुलाल