कोटेश्वर–कलंकी सडक निर्माण अवधि साढे पाँच महिना लम्बियो



काठमाडौं । चिनियाँ सरकारको अनुदान रकममा निर्माण भइरहेको कोटेश्वर–कलंकी ८ लेनको सडक निर्माण सयम फेरि साढे ५ महिना थप भएको छ ।

सम्झौता नवीकरण भएसँगै अब सांघाई कन्स्ट्रक्सन गु्रपले २०१८ डिसेम्बर १५ सम्ममा सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयम तोकिएको छ ।

चक्रपथ सुधार आयोजनामा अनुसार निर्माण कम्पनीले सडक विस्तारको काममा अन्तिम चरणमा पु¥याएको छ ।

कोटेश्वरदेखि बल्खुसम्मको सडक फिनिसिङ गर्न मात्रै बाँकी छ भने बल्खुदेखि कलंकीसम्मको सडक खण्डमा काम जारी छ ।

यसैगरी करिब १० किलोमिटरको सडकमा पर्ने पुल निर्माणको काम सकिएको आयोजनाको कार्यालयले जनाएको छ । यस्तैगरी, सडक खन्डमा पर्ने आकाशे पुल निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

साथै कलंकीमा निर्माण हुने अन्डर पास सडक निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो पटक सन् २०१३ जुनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुरुप समयमै काम हुन नसकेपछि भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण देखाउँदै आठ लेनको कोटेश्वर–कलंकी सडक निर्माण अवधि २ वर्षको लागि थप हुने गरी पुनः सम्झौता गर्दै सरकारले सडक निर्माणको काम सक्नुपर्ने अवधि २०१८ जुलाई ३१ सम्म थप गरेको थियो ।

चक्रपथ सुधार आयोजना कार्यालयका अनुसार विनाशकारी भूकम्प र नाकाबन्दीकै कारण सडक निर्माण अवधि लम्बिएको जनाएको छ । पछिल्लो सयम चिनियाँ ठेकेदारले काममा तीब्रता दिइरहेको छ ।

निर्माण कम्पनीले यही अनुरुप काममा तीब्रता दिएको अवस्थामा अब तोकिएकै सयमा सडक निर्माण सम्पन्न हुने आयोजना कार्यालयको दाबी छ । कंलकी–कोटेश्वर सडक निर्माणको सम्पूर्ण खर्च चीन सरकारकै रहेको छ । आठ लेनको कोटेश्वर–कलंकी सडक निर्माणको लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो ।

निर्माण कम्पनीले काम सुरू भएदेखि अहिलेसम्म लगभग ९० प्रतिशत रकम बुझिसकेको छ । अब बाँकी १० प्रतिशत रकम भने चिनियाँ निर्माण कम्पनीले सडक हस्तान्तरणको एक महिनापछि पाउने छ ।


क्लिकमान्डु