नौ वर्षदेखि ३५ सय रुपैयाँमा विदेशी एयरलाइन्सको काम



काठमाडौं । देवी थापा विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाइन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा ३५ सय रुपैंया मात्रै छ । थापालाई विमान बंगलादेशले दिएको तलबमा भने दुई हजार मात्रै हो । उनीको मासिक तलबमा १५ सय रुपैयाँ पेट्रोल खर्च शिर्षक छ ।

‘९ वषदेखि म यही काममा कार्यरत छु । तर, मेरो तबल २ हजार रुपैयाँ मात्रै हो । पेट्रोल खर्च भनेर सबै मिलाएर मलाई कम्पनीले ३५ सय रुपैयाँ दिँदै आएको छ । अन्य सेवा, सुविधा तथा भत्ता केहि छैन । दशैंमा पनि केहि दिंदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ’, थापाले भनिन् ।

उनीमात्र होईन, विगत २६ वर्षदेखि विमान बंगलादेश एयरलाइन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा तलब जम्मा ५ हजार रुपैयाँ मात्रै छ । उनले भने, ‘हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । २ वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ । हामी त हेरेको हेरै ।’

दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैंया दिन्छु भनेर राखेपनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको उनको भनाइ छ
। उनले दुखेसो गर्दै भने, ‘दिनहुँ २ घण्टा काम गरेबापत २ सय रुपैंया दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु ।

एकैचोटी ३२ लाख रुपैंया सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो ब्यथा आफैंसँग छ ।’
उनलाई तलब दिंदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए । एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भइरहेको बताए ।

श्रमिकमाथि एयरलाइन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाइन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल शुरु भएको छ ।

श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरुको नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाइन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए । त्यस्तै श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा पनि नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताउँछन् ।

सरकारले दिएको न्यूनत्तम सेवा सुबिधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुली बताए । वार्ताबाट माग पुरा नगरे एयरलाइन्सको मुख्य कार्यालयमा नै तालाबन्दी गर्ने उनको भनाइ छ ।


पुष्प दुलाल