बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड, काठमाण्डौ महानगरसँग संझौता



काठमाडौँ । काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ । निर्धारित समयमा नै काम सके कामपाले निर्माणको समयमा लाग्ने ५० प्रतिशत रकम व्यहोर्ने, दिएको रकम अन्य कार्यमा खर्च गर्न नपाउने र उद्यान निर्माणको समयमा टोखा नगरपालिकालाई प्राविधिक सहयोग आवश्यक परे पनि कामपाले व्यवस्थापन गर्ने जस्ता बुँदाहरु सम्झौतामा रहेका छन् ।

निर्माणपछि प्रवेश गर्न जारी हुने टिकट, पार्कसम्बन्धी अन्य कागजातहरु समेतमा कामपाको साझेदारी भएको भन्ने खुलाउनु पर्नेछ ।

सो अवसरमा कामपाका प्रमुख शाक्यले आप्mना वरपर रहेको नगरपालिकाहरुलाई पनि समृद्धि हासिल गर्न सघाउन सहयोग गरेको बताए ।

टोखा नपाका प्रमुख अधिकारीले निर्धारित समयमै बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चौपायालाई ट्याग लगाउनुपर्ने

कामपाभित्र पालिने चौपायाहरुलाई अबदेखि परिचय सङ्केत ट्याग लगाउनुपर्ने भएको छ ।

बुधबार कामपाले आयोजना गरेको चौपाया व्यवस्थापनसम्बन्धी कार्यक्रममा कामपा प्रमुख शाक्यले सार्वजनिक र घरपालुवा जनावरको अवस्था बुझी व्यवस्थापन गर्न ट्याग लगाउन आवश्यक रहेको बताए ।

छाडा कुकुर, बेवारिसे छाडिएका चारखुट्टे जनावर र आकस्मिक दुर्घटनामा परेका पशु चौपायाहरुको उपचार गरिने भएकाले घरपालुवा र अन्य चौपाया छुट्याउन यस किसिमको व्यवस्था गरिएको हो ।

यससम्बन्धी बुधबार कामपा र सद्गुरी सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरबीच एक सम्झौता सम्पन्न भयो । यस कार्यका लागि पक्ष कामपाले मन्त्रादेवी मन्दिरलाई १० लाख दिनेछ । रासस


क्लिकमान्डु