सेयर बजारमा सेल अफर, सस्तोमा किन्ने मौका फेरि नआउन सक्छ



काठमाडौं । नबिल बैंकको सेयर खरिद गर्न गत बर्ष असारमा १४ सय ७६ रुपैयाँ तिर्नु पथ्र्यो । तर, सोही सेयरको बजार मूल्य अहिले ९ सय १७ रुपैयाँ मात्र रहेको छ । नबिलको सेयरमा गत बर्ष र अहिले तुुलना गर्दा ५ सय ५९ रुपैयाँको अन्तर पाउन सकिन्छ ।

हिमालयन बैंकको सेयर गत बर्ष प्रति कित्ता ८ सय ८१ रुपैंया पथ्र्यो, अहिले ५ सय ४४ रुपैयाँ मात्र रहेको छ । हिमालयनको सेयर ३ सय ३७ रुपैयाँले घटेको हो ।

एभरेष्ट बैंकको गत बर्ष १३ सय ५५ रुपैयाँ पर्ने सेयरको मूल्य हाल ६ सय ४९ रुपैयाँ पर्दछ । एभरेष्टको सेयर भने ७ सय १ रुपैंयाले घटेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको गत बर्ष ७ सय ४० रुपैयाँ पर्ने सेयर अहिले ६ सय १८ रुपैयाँ पर्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर १ सय २२ रुपैयाँले घटेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २२ सय ८१ रुपैयाँ पर्ने सेयर अहिले ७ सय २५ रुपैयाँमा खरिद गर्न सकिन्छ । स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर १५ सय ५६ रुपैयाँले घटेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मुल्य गतवर्ष २ हजार ४९ रुपैयाँ थियो । अहिले १००८ मा पाइन्छ । यसको सेयर मुल्य १ हजार ४१ रुपैयाँले घटेको छ ।

यसरी हेर्दा सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताको लागि बजार घट्नु सुनौलो अवसर नै हो ।

कालीका सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता डुपेन्द्र भट्राईले बताए अनुसार –‘बजार घट्नु भनेको सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि धेरै राम्रो अवसर हो, किनभने यस्तो समयमा गरिएको लगानी प्रायः फाईदामा जान्छ ।’

उनले नयाँ लगानीकर्ताले हचुवाको भरमा भन्दापनि कम्पनीको अवस्था जानेर लगानी गर्दा राम्रो हुने बताए । साथै, बजार घटेको बेलामा नयाँ लगानीकर्ता ७५ प्रतिशत जोखिम मुक्त रहने धारणा व्यक्त गरे ।

उनको विचारमा २५ प्रतिशत जोखिम मोल्दै लगानीकर्ताले आफूले रुचाएको कम्पनीमा लगानी गर्दा राम्रो हुने जनाए । बैंक क्षेत्रमा लगानीकर्तालाई राम्रो हुने भट्राईको बुझाई रहेको छ ।

क्रिष्टल कञ्चनजंगामा रहेका ऋषिराम खनाल भन्छन्– ‘अहिले बजार घटेको छ, नेप्से घटेको छ, पूँजी वृद्धी भएको छ, यो बेला भनेको सेयरमा लगानी गर्दा फाईदा हुने समय हो ।’

यस्तो बेलामा लगानी गर्दा प्रतिफल समयले दिने उनको विचार रहेको छ । उनले सेयर बजारमा आउन चाहने नयाँ लगानीकर्ताले क्षणिक भन्दा दीर्घकालीन फाइदा हेर्नु पर्ने बताए । अन्य बेलामा महङ्गोमा किन्दा बजार घट्छ र साबिकको मूल्यमा आउनपनि होल्ड गर्नुपर्छ । यसरी बजार घटेको बेला भने थोरै लगानी गररे पनि धेरै फाइदा कमाउन सकिन्छ ।

अनलाइन सेक्यूरिटिजमा रहेका ज्वाला गौतमको भने भिन्न मत रहेको छ । सेयर बजार भनेको जोखिमकै क्षेत्र हो तर पनि बजार घट्दा भने चाँडै फल खान पाईन्छ । जति ठूलो जोखिम मोल्यो उति नै बढी फाईदा हुने उनको मत रहेको छ ।

बजार अझै घट्न सक्ने आँकलन गरिएकाले लगानी गर्न पनि हतार गरी हाल्न पर्छ भन्ने केही नरहेको उनले बताए । यसरी तत्काल लगानी गर्न हतार नगर्नु भने पनि बजार घटेकै बेलामा लगानी गर्न उत्तम हुने कुरामा भने उनले सहमति जनाए ।

‘सेयरबाट करोडपति’ पुस्तकका लेखक समेत रहेका सेयर विश्लेषक रविन्द्र भट्टराई अहिले सेयर बजारमा सेल अफर देखिएको बताउँछन् ।

‘मैले यसबारेमा पुस्तकमा उल्लेख गरेको छु,यसरी घट्दा नयाँ लगानीकर्ताको लागि अवसर नै, मात्र कम्पनी कसरी किन्ने भन्नेमा लगानीकर्ताले ध्यान दिनुपर्छ,’उनले भने ।

मुख्यरुपमा लगानीकर्ताले कम्पनीले दिन सक्ने लाभांशको आधारमा सेयर खरिद गर्न सक्छन् । राम्रा कम्पनी उठाउने समय यही भएको बुझाई भट्टराईको छ । राम्रा कम्पनी छान्ने जिम्मा भने लगानीकर्ता नै हो ।


क्लिकमान्डु