ट्याक्सीले ठग्यो ? यो नम्बरमा फोन गर्नुस्, काठमाडौंका ७ हजार ट्याक्सी कारबाहीमा



काठमाडौं । बैशाख १ गतेदेखि असार १८ गतेसम्म काठमाण्डौ उपत्यकामा ६ हजार ८ सय ७१ ट्याक्सी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका डीएसपी सुरेन्द्र मैनालीका अनुसार उपत्यका भर २ सय ७१ ट्याक्सीले बिलिङ मिटर जडान नराखेको पाइएको छ ।

बिलिङ मिटर नराखी सञ्चालनमा आएका ट्याक्सीलाई नेपाल गुणस्तर तथा नापतौल विभागमा बुझाइएको डीएसपी मैनालीले जानकारी दिए । यी ट्याक्सीलाई ५ हजार रुपैयाँसम्मको जरिवाना गरिने उनले बताए ।

‘बिलिङ मिटर नराख्ने ट्याक्सीलाई हामीले ५ हजार रुपैयाँ जरिवाना लिने र गाडी जफत गरी नेपाल गुणस्तर तथा नापतौल विभागलाई बुझाउने गरेका छौँ,’ डिएसपी मैनालीले भने ।

मैनालीले मिटर बिग्रेका तथा शिल चुडिएका २ सय ४४ वटा ट्याक्सीहरुलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिए ।

यस्तै, भनेको ठाउँमा जान नमान्ने ५ हजार ७ सय ८८ वटा ट्याक्सीलाई कारबाही गरिएको उनले जानकारी दिए । तिनीहरुबाट ३ हजार रुपैयाँसम्म जरिवाना लिइएको उनले बताए ।

बैशाख यता २ सय ५८ वटा रातो प्लेट भएकाले भाडा लिएको पाइएको उनले जानकारी दिए । उनीहरुलाई २ हजार रुपैयाँको दरले जरिवाना सहित यातायात विभागमा पठाउने गरिएको डीएसपी मैनालीले बताए ।

यस्तै, ट्याक्सी खाली भएरपनि जान नमान्ने ५ सय ८७ वटा ट्याक्सीलाई कारबाही गरिएको छ । उनीहरुलाई ५ सय जरिवाना गरिएको उनले जानकारी दिए ।

गुणस्तर तथा नापतौल विभागले ट्याक्सीहरुलाई अनिवार्य बिलिङ मिटर जडान गर्न निर्देशन दिएको छ । विभागले बिलिङ मिटर जडानका लागि पटक–पटक ट्रफिक प्रहरीसँग मिलेर अनुगमन गर्दै आएको छ ।

हाल उपत्यकाभर १० हजार भन्दाबढी ट्याक्सी रहेका छन् । २०७४ पुस महिनासम्म ट्याक्सीमा बिलिङ मिटर राखिएको नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सीतर्फका प्राविधिक प्रबिनकुमार लामाले जानकारी दिए ।

यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय जनशक्ति कम भएका कारण कति ट्याक्सीले बिलिङ मिटर राखेका छैनन् भनेर यकिन बताउन नसक्ने बताएको छ ।

विभागले कर्मचारी कम भएकै कारण अनुगमन कम भएको जानकारी दिएको छ ।

ट्याक्सले ठग्यो ? यो नम्बरमा फोन गर्नुस्

ट्याक्सी चालकको मनपरी रोक्न यातायात व्यवस्था विभागले नयाँ कामको थालनी गरेको छ । ट्याक्सी चाललकले यात्रुसँग मनपरी रकम असुल्ली गर्न थालेपछि विभागले नयाँ काम थालनी गरेको हो ।

विभागले मिटरमा जान नमानेमा वा आलटाल गर्ने ट्याक्सीको विवरण सहित सूचना दिन सक्ने गरी मोबाइल नम्बर उपलब्ध गराएको छ ।

विभागले उपलब्ध गराएको नम्बरमा फोन गरेर वा एसएमएस गरेर मनपरी रकम असुली गर्ने ट्याक्सीको विवरण दिने सकिने भएको छ । विभागले सेवा ग्राहीले दिएको उजुरीकै आधारमा ट्याक्सी चालकलाई कारबाही गर्ने समेत जनाएको छ ।

ठगी गर्ने र मिटरमा नजाने ट्याक्सीको नम्बर सेवा ग्राहीले एसएमएस गरेर पनि विभागलाई सूचना प्रदान गर्ने सक्ने छन् ।

त्यसैगरी, विभागले ठगी गर्ने ट्याक्सीको विवरण नजिकै रहेका ट्राफिक प्रहरीलाई समेत सूचना गर्ने सक्ने नयाँ व्यवस्था ल्याएको हो । विभागले मिटर सर्ट गरेर गन्तव्यसम्म जाँदा बढी रकम देखिएपनि सूचना गर्न सबैमा आग्रह गरेको छ ।


पुष्प दुलाल