बुध्द एयरको एघारौं एटीआर–७२ विमान काठमाण्डौं आइपुग्यो



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरको एघारौँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा अवतरण गरेको छ ।

फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज ५.५० बजे काठमाण्डौ अवतरण गरेको हो । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हुदैँ जहाज काठमाण्डौं आइपुगेको हो ।

थपिएको एटिआर ७२–५०० जहाज सँगै बुध्द एयरको जहाज संख्या ११ पुगेको छ ।

अहिले थपिएको जहाजसँगै ६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ रहेका छन् । कम इन्धन खपत गर्ने एटिआर जहाज वातावरणमैत्री मानिन्छ ।

आफ्ना अन्य एटिआर जहाजमा जस्तै यो जहाजमा पनि फराकिला र आरामदायी सिट रहेको कम्पनीले जनाएको छ । यो जहाजको व्यवसायीक उडान सुरु भएपछि अन्य जहाजहरूको नियमित चेकजाँच तथा मर्मतसम्भार अझ सहज हुनेछ ।

थपिएको जहाजले केहि सातादेखि व्यवसायीक उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु