धितोपत्र बोर्ड भन्छः आइपिओ र एफपिओको प्रिमियम मूल्य निर्धारण नियमसंगत र कानुनी




काठमाडौं । धितोपत्र बोर्डले कुनै पनि कम्पनीले जारी गर्ने प्रारम्भिक सार्बजनिक निष्कासन (आइपिओ) र थप सार्बजनिक निष्कासन (एफपिओ) को प्रिमियम मूल्य निर्धारण नियम संगत र कानुनी आधारमा नै भएको बताएको छ ।

कम्पनीहरुले जारी गर्ने आइपिओ र एफपिओको प्रिमियम मूल्य निर्धारण सम्बन्धमा विभिन्न प्रश्न उठेपछि बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

पहिला प्रिमियम मूल्यमा एफपिओको मूल्य निर्धारण गर्ने स्पष्ट कानुनी ब्यवस्था नभएको भन्दै बोर्डले २०७३ साउन २५ गते अन्तर्राष्ट्रिय अभ्यास अनुरुपको भन्दै थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण सम्बन्धी विधि लागू गरेको थियो ।

यो ब्यवस्था अनुसार थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य गणना गर्दा पूँजीकृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो), संस्थाको पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर खुद सम्पत्ती र १८० दिनको औषत बजार मूल्य विधिबाट प्राप्त हुने मूल्यहरुको कूल मूल्यको सामान्य औषत गणना गरी प्रिमियम मूल्य निर्धारण गर्ने व्यवस्था रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले थप सार्वजनिक निष्काशन गर्न आवेदन दिंदा प्रतिशेयर २९५१ रुपैयाँ मूल्य प्रस्ताव गरेकोमा उर्पयुक्त विधि लागू भए पश्चात उक्त कम्पनीले सो विधि अनुसार प्रतिशेयर १४२५ रुपैयाँमा एफपिओ जारी गरेको थियो ।

तत्पश्चात सोही विधि बमोजिम नेपाल एसबिआई बैंकले प्रतिशेयर ९७१ रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले प्रतिशेयर १२९० रुपैयाँ प्रिमियम मूल्य निर्धारण गरी थप सार्वजनिक निष्काशन गरेका थिए ।

धितोपको सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण सहित संरचनात्मक सुधार गर्नको लागि नेपाल सरकारको स्वीकृतिमा नयाँ नियमावली धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ले संगठित संस्थाले प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्था गरे पश्चात अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्रिमियम मूल्य निर्धारण प्रकृयालाई व्यवस्थित बनाउँदै धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण विधिहरु अपनाएको छ ।

सो विधि अनुसार थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन बर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सात दिन अगाडिको १८० दिनको औषत बजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ सो मूल्यलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।

सो विधि बमोजिम निर्धारण गरिएको प्रिमियम मूल्य र मूल्य निर्धारण गर्दा अपनाईएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको विवरणलाई संगठित संस्थाको लेखा परीक्षकबाट समेत प्रमाणित गराउनु पर्ने व्यवस्था गरिएको र प्रिमियम मूल्यको यथार्थपरक विश्लेषण होस् भन्ने उद्देश्यले प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको बोर्डको भनाइ छ ।

उक्त धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिएको व्यवस्था बमोजिम पोखरा फाइनान्सले प्रतिशेयर २२० रुपैयाँ, बुटवल पावर कम्पनीले प्रतिशेयर ५०१ रुपैयाँ, एनएमबि बैंकले प्रतिशेयर ३३३ रुपैयाँ, नेपाल बैंकले प्रतिशेयर २८० रुपैयाँ मूल्य निर्धारण गरेको र सोही बमोजिम बोर्डले ती संगठित संस्थाहरुलाई थप सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको बताएको ।

प्रारम्भिक सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारणमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजार मार्फत पूँजी परिचालन गर्न आकर्षित गर्न सरकार तथा बोर्डबाट प्रोत्साहनमूलक नीति अपनाएको बोर्डले उल्लेख गरेको छ ।

सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई आयकरमा १५ प्रतिशत विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायतका सुधारहरु गरिएको छ ।

त्यस अनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन बर्षको पूँजीकृत भएको आम्दानी, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा पछिल्लो लेखापरीक्षण भएको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमध्ये जुन कम हुन्छ सोलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।

सोही वमोजिम सार्वजनिक निष्काशन गर्न लागेको पहिलो उत्पादनशील कम्पनी शिवम् सिमेन्टसले उद्योग प्रभावित क्षेत्रका वासिन्दालाई प्रतिशेयर ३०० रुपैयाँ र सर्वसाधारणको लागि प्रतिशेयर ४०० रुपैयाँ प्रिमियम मूल्य निर्धारण गरेकोमा नियम अनुसार प्रारम्भिक सार्वजनिक निष्काशनको अनुमति प्रदान गरिएको बोर्डको भनाइ छ ।

सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण प्रचलित नियम तथा निर्देशिका बमोजिम पारदर्शी हिसावले गराउन बोर्ड पूर्ण सजग रहेको र उल्लेखित विधिहरु बमोजिम प्रिमियम मूल्य निर्धारण गरेको सुनिश्चित गरे पश्चात मात्र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशनको अनुमति प्रदान गर्दै आएको बोर्डको दाबी छ ।


क्लिकमान्डु