सार्क विकास फोरमको साझेदारी सम्मेलनमा महासंघका अध्यक्ष राणाको कस्तो होला संबोधन ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भारत प्रस्थान गरेकी छन् । उनी भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको सार्क विकास फोरमको साझेदारी सम्मेलन–२०१८० मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सार्क विकास फोरमले आयोजना गरेको उक्त साझेदारी सम्मेलनमा महासंघका अध्यक्ष राणाले नेपाल र सार्क राष्ट्रहरू बीचको आपसी सम्बन्ध, साझेदारी तथा सहकार्यका सम्भाव्यता विषयमा नेपाली निजी क्षेत्रको धारणा राख्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष राणास“गै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले भाग लिदै छन् ।

सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू र सार्क उद्योग वाणिज्य संघको सहभागिता रहने उक्त सम्मेलनलाई दक्षिण एशियाको रणनीतिक एवम् क्षेत्रीय महत्व बढाउने महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको छ ।

उक्त दुई दिने सम्मेलनमा आर्थिक, सामाजिक, सामाजिक उद्यमशीलता विकास तथा साना तथा मझौला उद्यम लगायतका विषयमा व्यापक छलफल गरी सम्भावित परियोजनामा लगानी जुटाउने वातावरण समेत बनाइने छ ।


क्लिकमान्डु