यस्तो बन्यो बिजुली बजारमा नेटवर्क आर्क ब्रिज, दशैंसम्ममा गाडी गुडाउन पाइने




काठमाडौं । बिजुली बजारमा बन्दै गरेको नेपालमै पहिलो पटक नेटवर्क आर्क ब्रिजको ४० प्रतिशत काम सकिएको छ । सो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको हो ।

हालसम्म पूल निर्माणमा ५ करोड ५८ लाख ७१ हजार रुपैयाँ खर्च भएको काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए ।

‘तलको ढलान सकिसकेको छ, आर्कको ढलान हुन बाँकी छ, यो सबै गर्न अझै २/३ महिना कुर्नु पर्छ, दशै अगाडी यो पूलमा गाडी गुडाउने हाम्रो लक्ष्य हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

उनले माथिको भाग ढलान हुन बाँकी रहेको बताएका छन् ।

यो पुल निर्माण सम्झौता २०७१ साल पुस १३ गते भएको थियो । यसलाई २०७५ पुस १३ गतेसम्ममा निर्माण गर्ने लक्ष्य लिइएको छ । उनले २ वर्ष टेन्डर डिजाइनमा नै खर्च भएको जानकारी दिए ।

‘यो बंगलादेशको डिपीएम कन्सल्टेन्टबाट डिजाइन चेक गरेर आएको हो, यस्तो पुल नेपालमै पहिलो पटक बनाउन लागिएकोले सुरुमा धेरै समस्या आयो, डिजाइकै लागि एक डेढ बर्ष सकियो,’ श्रेष्ठले भने ।

डिजाइन बनिसके पछि पनि खानेपानीका पाइप, ढलका पाइप तथा टेलिफोन लगायका तारहरु हटाउनु परेकोले पनि समय लागेको उनको भनाइ छ । आर्क ढलान भएपछि नेटवर्क तारहरु पनि फिट गर्नु पर्ने उनले बताए ।

अहिले बिजुली बजारबाट बबरमहल तर्फ जादा देब्रेतर्फ पुल बनिरहेको छ । देब्रेतिरको पूल बनेर गाडी संचालन हुन थालेपछि दाहिने तर्फ पनि यस्तै पूल बनाइने छ । दाहिने तर्फको पूल दशै लगत्तै बनाउन थालिने उनले जानकारी दिए ।

तर, दाहिने तर्फको पुल बनाउन यति लामो समय नलाग्ने र करिब डेढ बर्षमै बन्ने उनको दाबी छ ।

‘एक तर्फ काम गर्दा हामीले दुबै तिरको सबै समस्याहरु हटाइसकेका छौं, त्यसैले एकडेढ वर्ष भन्दा धेरै समय लाग्दैन,’ श्रेष्ठले भने ।


क्लिकमान्डु