दुई सांसद र डन गणेश लामाको ठेकेदार कम्पनी कालोसूचिको लाइनमा




काठमाडौँ । समयमै लिएको जिम्मेवारी पूरा नगर्ने दुई सांसदसहित डन गणेश लामाको निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राख्ने भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाको काम सम्पन्न नगरेको पाइएपछि विवादित ठेकेदार कम्पनी पप्पू नेपाल प्रगति जेभीलाई कालोसूचीमा राखिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले गत शुक्रबार एक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

भौतिक मन्त्रालयले आज दुई सांसदकै कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । यस्तै डन गणेश लामाको बिरुवा गाल्वा जेभीलाई पनि कालोसूचीमा राख्ने भएको छ ।

रसुुवाका सांसद मोहन आचार्यको निर्माण कम्पनी रसुवा कन्ट्रक्सनसहितका ९ कम्पनीलाई १५ दिन भित्र सम्पर्कमा आउन समय दिइएको छ । पप्पु कन्ट्रक्सनलाई जम्मा ७ दिनको समय दिएर सूचना सार्वजनिक गरेको छ ।

यस्तै सार्वजनिक सूचना प्रकाशित गरी सम्पर्कमा आउन एसबीए निर्माण सेवा, कोशी एण्ड न्यौपाने निर्माण सेवा, सूर्य कन्ट्रक्सन फर्म, च्याङमिलारगाल्वा, विरुवारगाल्वा, एलिट कन्ट्रक्सन र लोहनी एण्ड ब्रदर्शर सिद्धबाबा जेभीलाई ध्यानकर्षण गराइएको छ ।

ती ठेकेदार कम्पनीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालले मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा दिएको जिम्मेवारी पूरा नगरेको र पटकपटकको लिखित र मौखिक ताकेता गर्दा पनि काम नगरेको उल्लेख गरिएको छ ।

सती कम्पनीले चित्तबुझ्दो कारण र प्रमाण नदिए ३ वर्षसम्म कालोसूचीमा पर्नेछन् । कालोसूचीमा परेका कम्पनीले कुनै पनि सरकारी ठेक्कामा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा पर्ने कम्पनीमा रसुवाबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित काँग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन र पर्साबाट प्रतिनिधिसभामा संघीय समाजबादी फोरमका सांसद हरिनाराणय रौनियारको निर्माण कम्पनी पप्पु कन्ट्रक्सन हो ।

काभ्रेमा काँग्रेसका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका गणेश लामाको विरुवा कन्सट्रक्सन पनि कालोसूचीमा पर्ने देखिएको छ ।

सडक विभागले १५ दिन भित्र ठेक्का सम्झौता अनुसार काम सुरु नहुनुको कारणसहित स्पष्टीकरण मागेको छ । सो अवधिमा चित्त बुझ्दो जवाफ नआएमा ठेक्का सम्झौता रद्ध गरेर कालोसूचीमा राख्ने गरी सार्वजनिक सूचना शुक्रबार प्रकाशित गरेको हो ।

सडक विभागले खाङसाङ र सोखुखोला पुलमा लगाएको ठेक्का पप्पुले काम नगरेको उल्लेख गरेको छ । यही पुलका कारण पप्पु कालोसूचीमा तानिन लागेको हो । यो पुल २०६८ असारमा ठेक्का लागेको र २०६९ पुसमै सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

सडक विभागले ठेक्का लगाएका पुलमध्ये अघिकांश पप्पुले नै पारेको छ । विभागका अनुसार यो कम्पनीसँग अहिलेपनि तीन दर्जन पुल निर्माणाधिन छन् ।

तीमध्ये डेड दर्जन पुलको प्रगति निराशाजनक रहेको विभागले जानकारी दिएको छ ।

यस अघि पप्पुले बनाएको लालबकैया खोला, बबई नदीको जब्दिघाट र ललितपुरमा एक पुल निर्माण सम्पन्न नहुँदै भासिएको छ ।


क्लिकमान्डु