बुध्द एयरको काठमाडौं वाराणसी उडान सुरु



काठमाडौं । बुध्द एयरले आजबाट काठमाण्डौं वाराणसी उडानलाई सोमबार र शुक्रवार गरि साताको २ उडान भर्ने भएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका बारेमा जानकारी दिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुध्द एयरलाई वाराणसी उडान सुरु गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

उनले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनलाई बढावा दिने बिश्वास व्यक्त गरे । मन्त्री अधिकारीले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई उडान कनेक्टिभिटीले थप बल पुग्ने बिश्वास गरे ।

मन्त्री अधिकारी तथा बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा विदाई गरे । काठमाडौं वाराणसी सातामा दुई उडान सुरु भएसंगै पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुहरुलाई उनीहरूले विदाई गरेका हुन् ।

नेपालबाट वाराणसी यात्रामा गएका यात्रुहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्राचीन शहर र सभ्यतासंग जोडिएका शहरहरू हुन् काठमाडौं र वाराणसी । धार्मिक आस्थाका हिसाबले पनि काठमाडौं र वाराणसीको स्थान निकै उच्च रहेको छ । यी दुवै शहर युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका छन् ।

दुवै शहरलाई बुध्द एयरको उडानले सिधा सम्बन्ध स्थापित गरेको छ । उसले यी दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याएको छ ।

वाराणसीको लागि क्लासिक काशी, बुध्द ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, ईलाहावाद, प्रयाग स्नान इत्यादि रहेको छ । यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका हुनेछन् भने आवश्यकता अनुसार यसलाई बढाउन पनि सकिन्छ ।

यसै गरि भारतीय तिर्थालु तथा यात्रुहरुको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेजहरु पनि रहेको कम्पनीले जनाएको छ । जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शन रहेको छ । युवा वर्गलाई लक्षित गरि हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारी इत्यादि पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
यस उडानबाट तेस्रो मुलुकका पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सकिने र सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । काठमाण्डौं वाराणसी काठमाण्डौंको उडान अवधि जम्माजम्मी ५० मिनेटको हुनेछ ।

बुध्द एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी टिकट रू। १४००० र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५००० तोकेको छ ।


क्लिकमान्डु