सर्वोच्चले भन्योः वीपी राजमार्गमा ३५ सिटभन्दा कम क्षमताका सवारी चलाउन देउ



काठमाडौं ।  सर्वोच्च अदालतले नेपालकै नमुना सडक वीपीराजमार्गको खुर्कोट–सिन्धुली सडक खन्डमा ३५ सिट क्षमताका यात्रुबाहक बस सञ्चालनमा कुनै अवरोध नगर्ने सरकारका नाममा परमादेश जारी गरेको छ ।

तर, यस अघि जेठ २१ गते सर्बोच्च अदालतले नै बीपी राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सवारीलाई रुट इजाजत दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एकसाता अघि मात्रै प्राविधिकहरुको रिर्पोट लत्याउँदै यो सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सरीलाई रुट इजाजत दिने निर्णय गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गमा ३२ सिटे ठुला गाडी र १० टन भन्दा माथिका मालबाहक सवारी चलाउन दिने मन्त्री महासेठको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

फेरि असार १४ गते बिहिबार सर्वोच्च अदालतलनै बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो । यातायात व्यवसायी कान्छामान बलसमेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो ।

सडकमा ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलसमेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ ।

पर्यटकीय सडकमा किन बारम्बार हमाला

यातायात व्यवस्था विभागका प्राविधिक शरद अधिकारी नेतृत्वमा ट्राफिक प्रहरी, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरको टीमले दिएको अध्ययन प्रतिवेदन यो सडक खन्डमा ठूला सवारी चलाउन नमिल्ने उल्लेख छ ।

प्राविधिक टिमले दिएको प्रतिवेदनमा भिरालो भू–धरातल र सडकको चौडाई चार मिटर मात्रै भएका कारणले दुई मिटर चौडा भन्दा ठूला सवारी र १० टन भन्दा माथिका मालबाहक सवारी चल्न नमिल्ने प्रतिवेदनमा उल्लेख छ ।

सडकखण्डको अधिकांश भाग ४ मिटर चौडा तथा धेरै मोड भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट जोगिन ठूला बस र धेरै लोड भएका ट्रकलाई अनुमति दिन नहुने उल्लेख गरिएको थियो ।

चौडा सानो भएपनि काठमाडौंलाई तराईसँग जोड्ने छोटो दूरीको बिपी राजमार्ग धेरै घुम्ती र मोडसँगै उत्तिकै रमणीय पनि छ । यो सडकलाई जापान सरकारको सहयोगमा बनाइएको थियो । निर्माण हुनेवित्तिकै सडक विभागले यो सडकमा १६ सिट भन्दामाथिका यात्रुबाहक साधन र १० टन भन्दामाथि मालबाहक साधन चलाउन नहुने जनाएको थियो ।

सडक सञ्चालन भएदेखि यातायात व्यवस्था विभागले १६ सिट भन्दामाथि र १० टन भन्दामाथिका सवारीसाधनलाई अनुमति दिएको थिएन । तर, व्यवसायीहरुले त्यही बेलादेखि ठूला गाडी गुडाउन पाउनु पर्ने भन्दै सरकारी अधिकारीलाई दबाब तथा आर्थिक प्रलोभनमा समेत पार्ने प्रयास गरेका थिए ।


पुष्प दुलाल