भारतले किन प्रयोग गर्दैछ मालदिभ्समाथि नाकाबन्दीको अस्त्र ?



काठमाण्डौ । २०७२ मा नेपालमाथि नाकाबन्दी लगाएको भारतले अहिले नाकाबन्दीको अस्त्र मालदिभ्समाथि प्रहार गरेको भारत र मालदिभ्सबीच पछिल्ला केही वर्षयता कुटनीतिक टकराव देखिएको थियो ।

भारतको वैदेशिक व्यापार निर्देशनालयका अनुसार मालदिभ्समा नियमित रुपमा निर्यात गरिँदै आएको अत्यावश्यक खाद्य सामाग्रीको निर्यातमा कटौति गरिएको छ ।

भारतले मालदिभ्समा चामल, आलु, प्याज दाल जस्ता अत्यावश्यक सामाग्री निर्यात गर्ने गर्छ ।
मालदिभ्सले आफुलाई आवश्यक सबै खाद्यान्न आयत गर्ने गर्छ । भारतले अत्यावश्यक खाद्य पदार्थ निर्यातमा रोक लगाएपछि त्यहाँ भारत विरोधी भावना झन् चर्किदै गएको छ ।

केही वर्ष अघिसम्म दक्षिण एसियमा भारतको सहयोगी मानिने मालदिभ्सको भारतसँगको सम्बन्ध केही यता चिसिन थालेको थियो ।

मालदिभ्सको राजनीतिक नेतृत्व चीनसँग नजिकिँदै गएपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै आएको थियो । चीनले मालदिभ्सको पर्यटन तथा अन्य पूर्वाधार विकासमा लगानी गरेको छ ।

मालदिभ्सले सन् १९८१ मा भारतसँग व्यापार सन्धी गरेको थियो । सन्धी अनुसार मालदिभ्सले आफुलाई एक वर्षमा आवश्यक पर्ने खाद्य पदार्थको मात्रा बताएपछि त्यही अनुसार भारतले निर्यात गर्ने तय भएको थियो ।

सन्धीमा भारतमा खाद्य संकट देखिएको अवस्थामा बाहेक अरु अवस्थामा मालदिभ्समा खाद्य निर्यातमा कुनै रोकावट नहुने पनि उल्लेख गरिएको छ ।

भातरले मालदिभ्समा सन् २०१७/१८ मा २ सय १७ मिलियन डलर बराबरको खाद्यान्न निर्यात गरेको थियो ।

मालदिभ्सले भारतबाट बार्षिक ५ हजार ५ सय ८९ मेट्रिक टन आलु, १० हजार २ सय ७१ मेट्रिक टन प्याज र २३ हजार ३ सय ६१ मेट्रिक टन चामाल आयात गर्ने गर्छ ।

के चीनसँगको सम्बन्धले भारत डराएको हो ?

मालदिभ्सको पछिल्लो राजनीतिक नेतृत्व चिनियाँ लगानी देशमा भित्राउनका लागि चीनसँग सम्बन्ध विस्तार गर्ने रणनीतिमा छ । मालदिभ्सको यस्तो रणनीतिको भारले विरोध गर्दै आएको थियो । कुटनीतिक विरोधबाट मालदिभ्सले चीनसंगको सम्बन्ध विस्तार नरोकेपछि भारतले नाकाबन्दी लगाएको बताईन्छ ।

गत वर्ष डिसेम्बर ८ मा मालदिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौता(एफटीए)मा हस्ताक्षर गरेपछि भारत झन् आक्रोशित बनेको थियो । व्यापार सम्झौतासंगै चीन र मालदिभ्सले ९५ प्रतिशत सामाग्रीमा लाग्दै आएको आपूर्ती कर समेत खारेज गरेका छन् ।

मालदिभ्स चीनको वान बेल्ट एण्ड रोड परियोजना अन्र्तगतको मेरिनटाइम सिल्क सडकमा समेत जोडिएको छ ।

गएको फेबु्रअरीमा भारतले हिन्द महासागरमा चिनियाँ उपस्थितिलाई रोक्न तथा साझेदारी बढाउनका लागि १६ वटा देशको सहभागितामा संयुक्त सैनिक अभ्यास आयोजना गरेको थियो । भारतको यो कार्यक्रमलाई मालदिभ्सले अस्विकार गरेको थियो ।

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशमा संकटकाल घोषणा गरेर भारतलाई आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत चेतावनी दिएका थिए । गत महिना मात्रै भारतले राष्ट्रपति यामिन निकट मानिने सांसदलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

मालदिभ्सले भारतलाई सन् २०१३ मा उसले दिएको दुई वटा हेलिकोप्टर फिर्ता लैजान भनेको थियो । मालदिभ्समा काम गर्दै आएका २ हजारभन्दा बढी कामदारको वर्क पर्मिटपनि नवीकरण गरिएको छैन । (एजेन्सीहरुको सहयोगमा)


क्लिकमाण्डू