कृषियोग्य जमिन अंशबण्डा गर्दापनि घर बनाउन नपाइने




काठमाडौं । कृषियोग्य जमिनको कर घट्ने भएको छ । कृषियोग्य र आवासीय गर्न योग्य जमिनको कर तय गर्न गठन गरिएको कार्यदलले कर तय गरी सिफारिस भएको हो ।

काठमाडौं नगर विकास प्राधिकरणका सहसचिव केशवप्रसाद न्यौपानेका अनुसार कित्ताकाट रोकिएको सन्दर्भमा कृषि जग्गा खण्डीकरणको अन्त्यका लागि अब कृषि जग्गा खरिद गर्दा कर कम तिर्नु पर्ने व्यवस्था ल्याउनका लागि सिफारिस गरिएको हो ।

‘अब कृषि भूमि, औद्योगिक भूमि र आवसीय क्षेत्र पनि छुटयाउने भनिएको छ, यसो गर्दा कृषियोग्य जमिन दर्ता गर्दा सस्तो कर तिर्नुपर्ने हुन्छ, उपत्यकामा अलि महंगो भएपनि उपत्यका बाहिर भने धेरै सस्तो हुन सक्ने सम्भावना छ, अहिले सिफारिस मात्र गरिएको हो, निर्णय भइसकेको छैन,’ न्यौपानेले भने ।

यस्तै, उनले २० रोपनीभन्दा बढीको जमिनमा मात्र सहरी विकासका लागि प्लटिङ गर्न पाइने भनेर सिफारिस गरिएको पनि जानकारी दिए । कम्तीमा ५० परिवार अट्ने गरी व्यवस्थित सहर निर्माण गर्न पाउने गरी प्लटिङ गर्न पाइने उनले बताए ।

यसो गर्दा धेरै चुनौतिहरु पनि आउने बताउँदै उनले कृषि भूमि मात्र भएका मानिसले कृषि भूमिबाट आएको पैसाले आवासीय क्षेत्रमा जग्गा किन्न नसक्ने जस्ता समस्या उत्पन्न हुन सक्ने बताए ।

कृषि भूमि खेति गर्नेले मात्र किन्न पाए भने कृषि भूमिको माग कम हुन्छ अनि त्यसको कर घट्छ ।

यसका साथै कृषि योग्य जमिन अंशबण्डा गरेपनि त्यसमा घर बनाउन पाइने छैन । कृषि योग्य जमिनलाई कृषि कै लागि उपयोग गर्नु पर्ने पनि सिफारिस गरिएको छ । बनिसकेका घरहरुलाई हटाउनु उपयुक्त नहुने भएपनि अबको अवस्थामा भने घर बनाउन नपाइने नीति लागु हुन लागेको हो ।

जग्गा धनीले कृषि योग्य जमिनको उपयोग गर्न नचाहेमा छुट्टै सहरी जमिन किनेर घर बनाउन पाउने, तर कृषियोग्य जमिनमा घर बनाउन पाउने छैनन् ।


क्लिकमान्डु