नेपालीमूलका भण्डारीलाई अमेरिकामा सांसद बन्ने बाटो खुल्यो



बाल्टिमोर । नेपाली मुलका अमेरिकी ह्यारी भण्डारीलाई अमेरिकाको मेरिल्याण्ड राज्यको विधानसभा सांसद बन्ने बाटो खुलेको छ ।

मेरिल्याण्डको डिष्ट्रिक्ट ८ प्रतिनिधिको लागि मंगलबार भएको प्राईमरी (प्राथकिम) मतदानमा भण्डारीले दोस्रो सबैभन्दा धेरै मत ल्याई विजयी भएका हुन् ।

योसँगै अब भण्डारीले यहाँको डेमोक्याटिक पार्टीको तर्फबाट विधानसभाको लागि आधिकारिक उम्मेदवार बनेका छन् ।

प्राईमरी निर्वाचन भनिने यो निर्वाचनमा धेरै मत ल्याउने ३ जनाले मात्र आगामी नोभेम्बरमा हुने राज्यको विभानसभा निर्वाचनमा उमेदवार हुन पाउँछ । भण्डारीले यसअघि पनि सन् २०१४ मा यो चुनावमा भाग लिएका थिए ।

उक्त समयमा उनी चौथो स्थानमा भएपछि बाहिरिएका थिए । यो पटक भने भण्डारीले २०७२६ मत खसेकोमा ५७६५ मत ल्याई दोश्रो स्थानमा रहेका छन् । सबैभन्दा बढी मत ६३८७ ल्याउनेको भण्डारीको भन्दा ६ सय २२ मत बढी छ ।

अब आउने नोभेम्बरमा पनि निर्वाचन जिते भण्डारी अमेरिकामा रहेका नेपालीहरुमध्ये पहिलो विधानसभा सदस्य हुने सौभाग्य पाउनेछन् ।

मंगलवार सांझ आयोजित एक कार्यक्रममा भण्डारीले यो जित सबै नेपालीको जित भएको भन्दै अब नोभेम्बरको चुनाव जितेर नेपालीमाथी अमेरिकाले पनि गर्व गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली सक्षम छन् भनेर देखाउने यो भन्दा राम्रो अरु अबसर नहुने भन्दै सहयोग गर्न पनि सबैसंग आग्रह गरे ।

अहिले सरकारमा विपक्षि रहेको डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड कार्यसमिति सदस्यमा पनि भण्डारी बिजयी भएको बताईएको छ । ४० वर्षिय भण्डारीलाई मेरिल्याण्डको चर्चित पत्रिका बाल्टिमोर सनले समर्थन गरेको थियो ।

नेपालको पर्वतमा जन्मिएका भण्डारी २००५ अक्टोबरमा अमेरिका आएका थिए । युनिभर्सिटी अफ मेरिल्याण्डबाट पिएचडी गर्दै गरेका भण्डारी पेसाले अमेरिकामा शिक्षक पनि हुन् ।

आफ्नै पार्टीबाट टिकट पाउन जनताको भोट !

भण्डारीले मंगलबार प्रतिष्प्रर्धा गरेको चारै जना उनकै पार्टी अर्थात डेमोक्र्याटिक पार्टीका हुन् । आफ्नै पार्टीबाट टिकट पाउन जनताको भोट खोजिने अमेरिकी यो परम्परा भने अनौठो छ । नेपालमा उमेदवारको टिकट कसरी बाँडिन्छ ? टिकटको लागि नेताको चाकडी गर्ने, आसेपासे लगाउने प्रथा सबैलाई जानकारी नै छ ।

प्रत्यक्ष निर्वाचनमा विश्वास गर्ने अमेरिकी दलहरु भने आफ्ना उमेदवारहरु तल्लो तहदेखिनै प्रत्यक्ष रुपमा जनताको भोटबाट छनौंट गर्ने गर्दछन् ।

मंगलबार भण्डारीलाई भोट दिने जनताहरु पनि डेमोक्र्याटिक पार्टी समर्थक नै थिए । यहाँ रहेका सबै पार्टीहरुले यसरी नै आफ्नो पार्टीका उमेदवार छनौट गर्ने गर्दछन् ।

आफ्नै पार्टीका नेताहरुसंग प्रतिष्प्रर्धा गरेर जितेका भण्डारीले आउने निर्वाचनमा भने सबै दलका उमेदवारहरुसंग प्रतिष्प्रर्धा गर्नेछन् ।


पुष्प दुलाल