दुई एयरबस खरिदमा लाग्यो नेपाल एयरलाइन्स



काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानमा आक्रमक बजार विस्तारका लागि दुई वटा न्यारोबडी (एयरबस ए ३२०) जहाज खरिद गर्ने भएको छ ।

जहाज खरिदका लागि नेवानिको सञ्चालक बोर्डबाट स्वीकृति भएको छ । जहाज खरिद प्रक्रियाका लागि बोर्डले सैद्धान्तिक सहमति दिइसकेकाले अन्तर्राष्ट्रि ग्लोबल टेन्डर मार्फत जहाज खरिद प्रक्रिया सुरु हुने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले समेत ग्रिन सिंगल दिएपछि नेवानि जहाज खरिद प्रक्रियामा लागेको हो ।

नयाँ जहाज खरिद प्रक्रियाका लागि निगमले कमिटी समेत बनाएको थियो । कमिटीले दिएको सुझावको आधारमा नयाँ जहाज खरिद गर्न लागिएको नेवानिले जनाएको छ । नेवानिले जहाज खरिद प्रक्रिया सुरु गरेसँगै पुँजी विस्तारका लागि सरकारसँग पाँच अर्ब रुपैयाँ समेत माग गरेको छ ।

जहाज थप्दै जहाज ऋणको भार बढेको र पुँजी अतिनै न्यून भएको भन्दै नेवानिले रकम माग गरेको कंसाकार बताउँछन् । नेवानिको ऋण मात्रै ३७ अर्ब छ । तर, कुल पुँजी भने ३६ करोड रुपैयाँ मात्रै छ । यो पुँजीबाट नेवानिको सुधार नहुने र जहाज खरिदमा समेत समस्या आउने भन्दै रकम माग गरिएको उनको भनाइ छ ।

नेवानिले यस अघि दुई वटा न्यारोबडी जहाज खरिदमा र अहिले आउन लागेको दुई वटा बाइडबडी जहाज खरिदका लागि मात्रै सञ्चय कोष र नागरिक लगानी कोषसँग ३५ अर्ब ऋण लिएको छ । यसैगरी नेवानिले नेपाल सरकार र चिनियाँ कम्पनी एक्जिम बैंकलाई झन्डै ३७ अर्ब ऋण तिर्न बाँकी रहेको अवस्थामा फेरि ऋणबाट जहाज खरिद गर्न लागेको हो ।

निगमले अहिलेसम्म दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषबाट ऋण लिइसकेको छ । अब दुई जहाज किन्न रकमको जोहो गर्नुपर्ने चुनौती भने निगमसँग छ ।

छिमेकी राष्ट्र भारत तथा चीनका शहरमा आवश्यता अनुसार उडान गर्न नयाँ जहाज आवश्यक परेको नेवानिको भनाइ छ । निगमसँग अहिले दुईवटा न्यारोबडी एयरबस ३२० जहाज छन् । यी जहाजको क्षमता १ सय ५८ सिट हो ।

दुई वटा न्यारोबडी जहाज समेत खरिद गरेको अवस्थामा नेवानिसँग चार वटा न्यारोबडी जहाज, दुई वटा वाइडबडी जहाज हुने छ । तर, अहिले आन्तरिक उडानमा प्रयोग गर्दै आएको बोइङ भने नेवानिले दुई वटै बाइडबडी जहाज आएसँगै बिक्री गर्ने तयारी गरेको छ ।

‘डग्लास डिसी–३ डाकोटा’ जहाजबाट सेवा सुरु गरेको निगमले अन्अन्तर्राष्ट्रिय उडानतर्फ पछिल्लोपटक सन् २०१५ मा नयाँ जहाज ‘एयरबस ३२०’ किनेको थियो । आन्तरिकतर्फ भने पछिल्लोपटक सन् २०१४ मा चीनमा निर्मित ‘एमए ६०’ र ‘वाई १२ ई’ जहाज भित्र्याएको थियो । १४ असारमा निगमले पहिलोपटक वाइडबडी जहाज ‘एयरबस ३३०’ भित्र्याउँदै छ । त्यसको ६ सातापछि थप अर्को वाइडबडी नेपाल आइसक्ने निगमको भनाइ छ ।

नेवानिले २०१५ मा दुई वटा न्यारोबडी जहाज खरिद गरेपछि अन्तर्राष्ट्रिय उडानमा सन् २०१६ मा धैरे यात्रु बोक्न एयरलाइन्स कम्पनी समेत बनेको थियो । तर, नेवानिसँग रहेको दुई वटा बोइङ मध्ये एउटा ग्राउन्डेट हुनपुग्दा नेवानिले आफ्नो शाख नै गुमाएको छ । तर, अहिले नेवानिले पुरानो एउटा बोइङ १५ करोड रुपैयाँ बिक्री गरिसकेको छ ।


पुष्प दुलाल