ब्रोकरले अब मार्जिन ट्रेडिङ मात्रै होइन, मार्जिन लेण्डिङ नै गर्न पाउने



काठमाडौं । धितोपत्र दलाल ब्यवसायी (सेयर ब्रोकर) ले सेयर किन्ने ब्यक्ति वा संस्थालाई सेयर किन्न ऋण दिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ब्रोकरलाई मार्जिन लेण्डिङको सुविधा दिएको हो । यसअघि धितोपत्र बोर्डले ब्रोकरलाई मार्जिन ट्रेडिङको सुविधा दिने नीतिगत ब्यवस्था गरेको थियो ।

ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने नीतिगत ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । कुनै कम्पनी, फर्म, संस्था वा निकायले निक्षेप संकलन गर्न वा ऋण दिनको लागि राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुन्छ ।

‘ब्रोकरले सेयर किन्न ऋण दिन पाउने बाटो खुल्ला गर्ने निर्णय भएको छ, अब प्रक्रिया अनुसार अनुमति लिन चाहने ब्रोकरले लाइसेन्स लिएर यो काम गर्न सक्छन्,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने ।

सेयर किन्न ऋण दिन चाहने ब्रोकरले आफ्नो प्रवन्धपत्र तथा नियमावलीमा सो सम्बन्धि ब्यवस्था गर्नुपर्ने हुन्छ । त्यसपछि धितोपत्र बोर्डले ब्यवस्था गरे अनुसारको प्रक्रिया पूरा गर्नुपर्छ । यसका अतिरिक्त राष्ट्र बैंकले तोकेको विधि र प्रक्रिया अनुसारको निवेदन राष्ट्र बैंकमा दिनुपर्ने हुन्छ ।

यसरी निवेदन प्राप्त भएपछि राष्ट्र बैंकले आवश्यक अध्ययन गरेर ब्रोकरलाई मार्जिन लेण्डिङको लाइसेन्स दिनेछ । राष्ट्र बैंकबाट यस्तो लाइसेन्स पाए पछि ब्रोकरले सेयर किन्नको लागि ऋण दिन पाउने छन् ।

राष्ट्र बैंकले यसअघि नै गाडी खरिद गर्नेहरुका लागि ऋण दिन हायर पर्चेज कम्पनीहरुलाई स्वीकृति दिइ सकेको छ । सोही मोडालिटीमा सेयर किन्न ऋण दिन पाइने बाटो राष्ट्र बैंकले खुल्ला गरेको हो ।


क्लिकमान्डु