हप्ता दिनमै २१ अर्बले बढ्यो बैंकहरुको निक्षेप
काठमाडौं । बैंकहरुबीच निक्षेप आकर्षित गर्न भएको ब्याज बढाउने तीब्र प्रतिस्पर्धाको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक सातामै वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् ।
साप्ताहिक औषतमा हेर्दा पछिल्ला साताको वृद्धिदर पछिल्ला ६ महिना यताकै उच्च हो ।
गत जेठ २५ गते वाणिज्य बैंकहरुले २३ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० ख र्ब ६३ अर्ब रुपैयाँ ऋण दिएका थिए ।
तर, असार ३ गतेसम्ममा बैंकहरुले २३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० खर्ब ६९ अर्ब रुपैयाँ ऋण दिएका छन् ।
आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्च पनि केही बढेकाले बैंकहरुको निक्षेपमा त्यसको प्रभाव देखिएको हो ।
एक सातमै २१ अर्बले निक्षेप बढ्दा ऋण भने ६ अर्ब रुपैयाँले मात्रै बढेको तथ्यांकले देखाउँछ । यसको अर्थ के हो भने बैंकहरुले ऋण दिन भन्दा निक्षेप लिनमै बढी केन्द्रित भएका छन् ।
वर्षान्तमा आफ्नो वासलातको आकार ठूलो देखाउन पनि बैंकहरुले निक्षेप बढाउन तीब्र प्रतिस्पर्धा गरेका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेपछि बैंकहरुले ब्याजदर बढाउने तीब्र प्रतिस्पर्धा गरेका थिए ।
संघले जेठ २८ गते गत फागुनमा भएको ब्याजदरसम्बन्धी भद्र सहमति खारेज गरेको थियो । फागुनमा मुद्दति निक्षेपमा ११ प्रतिशत र बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिन सहमति गरेको थियो ।
बैंकहरुबीच भएको ब्याजदर बढाउने प्रतिस्पर्धाका कारण निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकको पनि ध्यान खिचिएको थियो ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहमतिमा बैंकर्स संघले असार ७ गते फेरि ब्याजरदमा भद्र सहमति गरेको छ । जसअनुसार अब बैंकहरुले मुद्दतिमा ११ प्रतिशत र बचतमा ७ प्रतिशत मात्रै ब्याज दिने छन् ।