जम्बो टोली लिएर चीन उडे प्रधानमन्त्री



काठमाडौं । ११९ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली केही बेर अघि चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलगायत सरकारी अधिकारी समावेश छन् ।

६ दिने औपचारिक भ्रमणमा लागि चीन उडेका प्रधानमन्त्रीको टोलीमा ४८ सदस्य सरकारी खर्चमा गएका छन् भने ७१ जना नीजि खर्चमा गएका छन् ।

राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको जहाजलाई छाडेर उनी आफ्ना निकटका व्यवसायी मानिएका आङ छिरिङ शेर्पाको लगानी रहेको हिमालयन एयरलाइन्सबाट चीन गएका छन् ।

भ्रमणका क्रममा रेलमार्ग निर्माणका विषयमा महत्वपूर्ण सम्झौता हुने दावी गरिएको छ । तर जानकारहरुका अनुसार केरुङ काठमाडौँ रेवलमार्ग निर्माणको विषयमा डिपिआर गर्ने सम्झौता गर्ने तयारी भएको छ ।

यस्तै मेची, कोशी करिडोर निर्माणका विषयमा समेत द्विपक्षीय सम्झौता गर्ने तयारी गरिएको छ ।

बुटवल पावर कम्पनीको साझेदारीमा निर्माण गर्न लागिएको माथिल्लो मस्र्याङदीलगायत केही जलविद्युत् आयोजनामा समेत सहमति गरिनेछ ।

किमाथांका अरुण, तमोर, सुनकोशी दुई, नलसिंहगाड , उत्तरगंगाजस्ता महत्वपूर्ण आयोजना निर्माणका लागि सहमति गर्ने तयारी छ । यस्तै टोखा छहरे सुरुङमार्ग निर्माणका लागि समेत सहमति गर्ने तयारी छ । तर तयारी गरिएका सबै विषयमा सहमति होला वा नहोला भन्ने बारेमा भने तत्काल नै केही भन्न नसकिने अवस्था रहेको छ ।


क्लिकमान्डु