विदेशी पाउडर दूध आयात बन्द गरिने कृषि मन्त्री खनालको घोषणा



काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी  खनालले विदेशी पाउडर दूध आयत बन्द गरिने बताएका छन् । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा भएको छलफल कार्यक्रममा मन्त्री खनालले यस्तो घोषणा गरेका हुन् ।

पाउडर उत्पादन गर्ने स्वदेशी कारखानालाई सहुलियत दिने, बताउँदै उनले चितवनको पाउडर डेरीको पुर्नसंचालन गर्न र डिडिसीलाई स्तरोन्नती गर्न निर्देशन समेत दिएका थिए ।

सरकारले दूध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदामा सिलबन्दी गरिएको प्रशंग उल्लेख गर्दै उनले भने– ‘अनुगमन चर्चामा आउनका लागि मात्र होइन, अहिलेका विकृतिलाई निष्कर्षमा नपुर्याएसम्म जतिबेला जहाँ पनि हुन्छ । वर्षमा पचासौं पटक पनि अनुगमन हुन सक्छ ।’

जनताको स्वास्थ्यमा खेलवाड गर्ने जो कोहीलाई पनि छोडिन्न, कर्मचारी अभाव भएर सरसफाई हुन नसकेको भए थपेर भएपनि सफासुग्घर राख्न उनले निर्देशन दिएका थिए । मन्त्री खनालले भने– ‘तपाईहरु उत्पादन राम्रो गर्नुस्, मिसावट नगर्नुस, सरसफाइमा र जनताको स्वास्थ्यको ख्याल गर्नुस्, त्यसो गर्दा कोही कसैसँग डराउनु पर्दैन ।’

मन्त्री खनालसँगको छलफल कार्यक्रममा नेपाल डेरीका सञ्चालक अरनिकोराज भण्डारीले अनुगमनलाई निरन्तरता दिन पर्ने र कच्चा दूध कस्तो आएको छ नाका मै चेकजाँच गर्नु पर्नेमा जोड दिए । त्यसैगरी राजधानी डेरीका राजकुमार दाहाल भने– ‘केही डेरी दर्ता नभई सञ्चालन भइरहेका छन्, त्यसो गर्दा उनीहरुले सरकारलाई कर तिर्न परेको छैन, कर नतिर्दा उनीहरुले सस्तोमा दूध बेच्छन्, हामी कर तिरेर उनीहरुसँग प्रतिष्पर्धा गर्न सक्दैनौं ।’

केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यष नारायण देवकोटाले गुणस्तर कायम गर्नु पर्छ भन्नेमा सहमत छौं, अहिले विदेशबाट धेरै सस्तोमा पाउडरको आयात भएको छ त्यसलाई रोक्न नै पर्ने र दैनिक दुईलाख लिटर दूध संकलन भए मिल्क होलिडे नहुनेमा जोड दिए । त्यसैगरी दुग्ध विकास संस्थानका महाप्रबन्धक इश्वरी गौतमल सरकारले छापा मारेपछि दैनिक १० हजार लिटर दूध बिक्रि हुन छाडेको छ र गुणस्तर तलैदेखि अनुगमन गर्न पर्नेमा जोड दिएका थिए ।


क्लिकमान्डु