घरजग्गा किन्ने ऋणमा बैंकको सहुलियत, ३५ बर्षभित्रमा तिरे हुने




काठमाडौं । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला चलिरहेको छ । घरजग्गा किन्नलाई चाहिने जति पैसा तपाइसँग नहुन सक्छ । तर, तपाइसँग भएकोले पुगेन भने बैंकहरुले ऋण दिएर तपाइको आवश्यकता पूरा गरिदिन सक्छन् ।

सो मेलामा ६ वटा बाणिज्य बैंकले स्टल राखेरै घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई सुलभ तरिकाले ऋण दिने ब्यवस्था मिलाएका छन् । यसरी सुविधा दिन लागेका बैंकहरुमा एनआइसी एशिया, एभरेष्ट, सनराइज, एनएमबी, सिभिल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हुन् ।

मेलामा बैंकहरुले ब्याज छुट भने दिएका छैनन् । यी बैंकले सहज तरिकाले ऋण उपलब्ध गराउने र आफूहरुले लिदै आएको सेवा शुल्क १ प्रतिशतमा ०.२५ प्रतिशत कम गरेर ०.७५ प्रतिशत मात्रै सेवा शुल्क लिने बताएका छन् ।

एभरेष्ट बैंकले १०.३३ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजमा घर तथा अपार्टमेन्ट खरिद गर्न ऋण दिने जानकारी दियो ।

सबै बैंकहरुले घर तथा अपार्टमेन्टको मूल्यको ५० प्रतिशतसम्म ऋण दिइरहेका छन् । यस्तो ऋणको भुक्तानी अवधि ५ बर्षदेखि ३५ बर्षसम्मको छ । छिटोमा ५ बर्षसम्मको लागि ऋण दिने प्याकेज एभरेष्ट बैंकले ल्याएको छ भने ३५ बर्षभित्रमा भुक्तानी गर्दा हुने प्याकेज एनएमबी बैंकको छ ।

सिभिल बैंकले घर किन्नका लागि १२.३६ प्रतिशतदेखि १३.५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन थालेको जानकारी दिएको छ ।

जग्गा भएका व्यक्तिले जग्गा धितो राखेर पनि घर निर्माणको लागि ऋण लिन पाउने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । यसरी जग्गा धितो राखेर ऋण लिदा १३.५ प्रतिशत ब्याजदर तिर्नु पर्ने बैंकले जानकारी दिएको छ ।

यस्तै सन्राइज बैंकले सनराइज सुरक्षित घरकर्जा नाराका साथ ब्याजदरको व्यवस्था गरेको छ । बैंकले ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको घरजग्गा ऋण उपलब्ध गराउने भएको हो । बैंकले १४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउदै गरेको छ ।

सनराइज बैंकले २० वर्षदेखि ५० वर्षसम्मका ऋणीहरुले बैंकबाट १० वर्षदेखि २० वर्षसम्मको कर्जा अवधिका लागि ऋण पाउने जानकारी दिएको छ ।

एनआइसी एसिया बैंकले १२ प्रतिशतदेखि १४ प्रतिशतसम्मको ब्याजदरमा घरजग्गा लोन उपलब्ध गराउन लागेको छ । बैंकले घरजग्गा, भवन निर्माण लगायतका विषयमा आकर्षक ब्याजदरमा कर्जा उपलब्द गराउने छ । एनआइसीले कर्जा अवधि २५ वर्षसम्मको लागि तोकेको छ ।


क्लिकमान्डु