काठमाडौंमा ७५ लाखदेखि साढे २ करोडसम्मका अपार्टमेन्ट, घर किन्दा कति पर्छ ?




काठमाडौं । काठमाडौंमा उपत्यकाभित्र घर वा अपार्टमेन्टको खोजीमा हुनुहुन्छ ? कति मूल्यमा घर वा अपार्टमेन्ट पाइन्छ भन्ने प्रश्न पनि तपाइको मनमा हुन सक्छ ।

तपाइका यस्तै प्रश्नको समाधान गर्न नेपाल जग्गा तथा आवाश विकास संघले ७औं घरजग्गा मेला आयोजना गरी जानकारी दिएको छ ।

मेलामा विभिन्न कम्पनीहरुले स्टल राखेका छन् । क्लासिक डेभलपमेन्टले अपार्टमेन्टहरु ७५ लाख रुपैयाँदेखि १ करोड ५४ लाख रुपैयाँसम्ममा विक्रीमा राखेको छ ।

क्लासिकले गोदावरीमा विकास गरेको अपार्टमेन्टमा २ वटा बेडरुम भएको अपार्टमेन्ट ७५ लाख रुपैयाँमा विक्री गरिरहेको छ । मेलामा दिइएको जानकारी अनुसार प्रत्यक फ्ल्याटमा टिभी, टेलिफोन, सिसिटिभीको पनि व्यवस्था गरिएको छ ।

यस्तै डाउन टाउनले आफ्नो अपार्टमेन्टहरु ५४ लाख रुपैयाँदेखि १ करोड १८ लाख रुपैयाँसम्ममा पाइने जानकारी दियो । डाउन टाउनको अपार्टमेन्टमा फर्निसिङको व्यवस्था छैन । सो अपार्टमेन्ट खरिद गरेर भाडामा दिन पनि पाइने ब्यवस्था छ ।

वी-स्टार रेजिडेन्सीले ९५ लाख रुपैयाँदेखि २ करोड ५५ लाख रुपैयाँसम्मममा अपार्टमेन्टहरु विक्री गरिरहेको छ ।

वी-स्टारले स्क्वायर फिटको आधारमा अपार्टमेन्टको मूल्य तय गर्ने गरिएको जानकारी दियो । कम्पनीले अपार्टमेन्ट प्रतिस्क्वायर फिट १० हजार ५ सय रुपैयाँ राखेको छ । यस्तौ प्रत्येक तल्ला अनुसार अपार्टमेन्टको स्क्वायर फिटको मूल्य २५ रुपैयाँले बढ्दै जाने कम्पनीले जानकारी दिएको छ ।

कोलोनीमा घर किन्दा कति पर्छ ?
भैसेपाटी भिल्लाले कोलोनी हाउसहरु २ करोड ७५ लाख रुपैयाँदेखि ३ करोड ५० लाख रुपैयाँसम्ममा विक्री गरिरहेको छ । उसको ५ आनामा बनेको ५ बेडरुम र कार पार्किङसहितको घरको मूल्य २ करोड ७५ लाख रुपैयाँ छ ।

यस्तै भिल्लाको सबैभन्दा महंगो घरको मूल्य ३ करोड ५० लाख रुपैयाँ छ । ६ आना जग्गामा बनेको यस्तो घरमा पनि ५ वटा बेडरुम र कार पार्किङको पनि सुविधा छ ।

यस्तो घर किन्नेले बुकिङमा १० प्रतिशत रकम बुझाउनु पर्नेछ भने बाँकी ९० प्रतिशत रकम बुकिङको ३० दिनभित्रमा बुझाउनु पर्नेछ । आफूसँग घर खरिदको लागि चाहिने पैसा नभएर ५० प्रतिशतसम्म बैंक ऋण पनि पाइनेछ ।

पद्मा कोलोनीले सितापाइलामा बनाएको घरहरु १ करोड ५९ लाख रुपैयाँदेखि ३ करोड १० लाख रुपैयाँसम्ममा विक्री गरिरहेको छ । पद्माले ३ तल्लासम्मको घर बनाएर विक्री गरिरहेको हो ।

पद्माका घरहरु सितापाइला, टउखेल, ललितपुर, ठूलोभर्याङ लगायतका स्थानहरुमा छन् । पद्मा कोलोनीका प्रत्येक घरहरु २ हजार १० देखि २ हजार १ सय १० स्क्वायर फिटमा बनेका छन् ।

यस्तै ग्रीनहिल सिटिले २ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्ममा घरहरु विक्री गर्दै आएको छ । कम्पनीले हाल मुलपानीमा रहेको कोलोनी हाउसका लागि बुकिङ खुल्ला गरेको हो । कम्पनीले घर विक्री गर्नुका साथै घर निर्माणमा पनि सहयोग गर्ने गरेको छ । कम्पनीले आफूले ९० लाख रुपैयाँदेखि ९ करोड रुपैयाँसम्ममा घर निर्माणको काम गर्दै आएको जानकारी दिएको छ ।


क्लिकमान्डु