सौर्य एयरलाइन्सलाई बक्यौता चुक्ता गर्ने १५ दिनको मौका



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आन्तरिक उडान गर्दै आएको निजी हवाई सेवा प्रदाय सौर्य एयरलाइन्सलाई विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता गर्ने १५ दिनको समय दिएको छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार सौर्य एयरलाइन्सले समयमै बक्यौता चुक्ता गर्ने नसकेपछि फेरि अन्तिम पटकको लागि असार १५ गतेसम्मको समय दिइएको छ ।

तोकिएको समयमा सबै रकम चुक्ता नगरेपनि ५० प्रतिशत भन्दा बढी रकम दाखिला गर्नु पर्ने उनको भनाइ छ । केही दिन अगाडि मात्रै एयरलाइन्सले १० लाख रुपैयाँ रकम तिर्दै एक साता भित्र सबै रकम तिर्ने पत्र पठाएको थियो । पत्र पाउनासाथ आफुहरुले सौर्य एयरलाइन्सलाई एक साताको समय थप गरेको उनको भनाई छ ।

एयरलाइन्स कम्पनीले विमानस्थल सेवा शुल्क वापतको झन्डै ३ करोड भन्दा बढी रकम तिर्न बाँकी छ । एयरलाइन्सले असार १५ सम्म रकम नतिरेको अवस्थामा विमानस्थल कार्यालयले प्रत्येक उडानमा एक घन्टा ढिला गरिदिने भएको छ ।

एक घण्टा उडान ढिला गर्दा पनि रकम नतिरेको अवस्थामा भने विमानस्थलको नियम अनुसार उडान नै बन्द गराएर रकम उठाउने विमानस्थलको भनाइ छ ।
एयरलाइन्सले यस अघि पनि समयमै रकम तिर्ने भन्दै लिखित सहमति गरेको थियो ।


क्लिकमान्डु