बैंकर भन्छन् : संख्या घटाउन मर्जर गर्ने भए यो वर्ष गरौ अर्को वर्ष सकिदैन



काठमाडौं । पछिल्लो समय बैकिङ क्षेत्रमा संख्या घटाउन मर्जरको व्यापक चर्चा चलेको छ ।

राष्ट्र बैंकले २ वर्ष अगाडि ल्याएको मौद्रिक नीतिमा चुक्ता पुँजीको बढाउने नीति ल्यायो । जसले विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेपनि वाणिज्य बैंकको संख्या घटेन ।

अहिले संख्या घटाउनको लागि मर्जरको नीति राष्ट्र बैंकले ल्याउने चर्चा छ । लुम्बिनी विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संख्या घटाउन मर्जर गर्नुपर्ने यो वर्ष गर्न सुझाव दिए ।

‘धेरै बैंकले शाखा विस्तारका लागि नयाँ कर्मचारी भर्ना गरेका छन्, शाखापनि धेरै नै जुध्ने अवस्था छ’,उनले भने ।

उनले राष्ट्र बैंकले मर्जरको नीति ल्याउने भए यो वर्षमात्र सम्भव भएको र अर्कोवर्ष सम्भव नभएको बताए ।

आइबिएन मिडिया रिसर्चले आयोजना गरेको मौद्रिक नीतिको सुझाव कार्यक्रममा उपस्थित भएका गभर्नर नेपालले संख्या घटाउने विषयमा कुनैपनि प्रतिक्रिया दिएनन् । उनले मौद्रिक नीति ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा गर्ने गरेर आउने बताए ।

‘लगातार २ आर्थिक वर्षमा राम्रो अंकको आर्थिक बृद्धिदर भएको छ,स्थिर सरकार बनेपछि लगानीकर्ताहरु उत्साहित छन्,८ प्रतिशतको आर्थिक बृद्धिदर सम्भव हुन्छ।’उनले भने ।

कार्यक्रममा उपस्थित बैंकरहरुले तरलता अभावको कारण ब्याजदर उतारचढाव देखिएको र त्यसलाई रोक्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल डेभलपमेन्ट बैकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले बैंकहरुको पुँजी वृद्धि पछि लाभांश बढाउने आधारमा कर्जा प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आएको बताए ।

उनले वाणिज्य बैंकबाट समस्या सिर्जना भएको भन्दै अन्धाधुन्ध कर्जा परिचालन गरेकाले भविष्यमा समस्या आउन सक्ने बताए ।

पुँजी वृद्धिको माध्यम हकप्रद सेयरको कारण अहिले ब्याजदर अस्थिर भएको र वाणिज्य बैंकको संख्या १२ देखि १५ सम्म झार्नुपर्ने सुझाव उनको छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले हालै आएको बजेटलाई हेरेर राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सानिका बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बासेल ३ को मापदण्ड अनुसार बैकिङ क्षेत्र चल्नुपर्ने बताए ।


क्लिकमान्डु