घन्टौं बोल्ने केशब बडाललाई गभर्नरले १० सेकेन्ड समय दिएपछि…



काठमाडौं । जुनसुकै कार्यक्रम भएपनि आफू सहभागी छन् भने केशब बडाल बोलिहाल्छन् । बोल्न थालेपछि एक÷डेढ घन्टा लगातार बोल्नु बडालको ट्रेडमार्क नै हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाब संकलन कार्यक्रमको आयोजना गरेको थियो ।

दिउसो १ बजेदेखि शुरु भएको कार्यक्रम सवा ३ सम्म चल्यो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले अब कार्यक्रम सकिनै लाग्यो, अन्तिममा बोल्ने कोही हुनुहुन्छ ? भनेर फ्लोरलाई सोधे ।

पूर्वमन्त्रीसमेत रहेका सहकारी अभियान्ता बडालले ‘म छु’ भनेर हात उठाए ।

बडालले लामो समय बोल्छन् भन्ने प्रष्टसँग थाहा पाएका गभर्नर नेपालले उनलाई बोल्नका लागि अनुमति दिएनन् ।

‘तपाई सांसदजस्तो मान्छे, संसदमै पनि बोल्न पाउनुहुन्छ, यहाँ के बोलिरहनुहुन्छ,’ गभर्नरले बडाललाई भने ।

त्यतिकैमा बडालको छेउमै रहेका बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आफ्नो एउटा सुझाब छुटेको भन्दै गभर्नरसाग समय मागे ।

गभर्नरले अघि बोलिसकेको भन्दै ढुंगानालाई समय दिन मानेनन् ।

तर, ढुंगानाले छोटो र महत्वपूर्ण सुझाब छ भनेपछि गभर्नरले उनलाई दोस्रोपटक बोल्न समय दिए । ढुंगानाले १ मिनेटमै छुटेका कुरा राखे ।

त्यसपछि गभर्नरले फेरि सोधे- अब म कार्यक्रम अन्त्य भएको घोषा गर्न गइरहेको छु । कसैको महत्वपूर्ण र छोटो सुझाब भए १ जनाले राख्न सक्नुहुन्छ । पत्रकार भाईहरुको सुझाब छ ?’

बडालले फेरि हात उठाउँदै भने- मेरो छ ।

गभर्नरलाई फसाद पर्यो । एकछिन अक्मकिए बडाललाई बोल्न दिउँ कि नदिउँ भन्ने डर । बोल्न दिउँ १ घन्टाभन्दा बढी समय खाइदिने डर, नदिउँ भने अरु सबैलाई बोल्न दिने बडाललाई मात्रै नदिएजस्तो हुने डर ।

पूर्वमन्त्रीजस्तो र नेकपाको नेताजस्तो व्यक्तिले पटकपटक आग्रह गर्दा गभर्नरले बोल्न नदिने कुरै भएन ।

‘बडालजी पूर्वमन्त्री पनि भइसकेको व्यक्ति हुनुहुन्छ, उहाँलाई समयको महत्व थाहा छ, भूमिका नबाँधी आफ्नो सुझाब राख्न सक्नुहुन्छ, तपाईंलाई म १० सेकेन्ड समय दिन्छु, यो समयमा आफ्ना कुरा सक्नुहोस्,’ गभर्नरले भने ।

समय पाएपछि बडालले माइक समाएर बोल्न थाले । शुरुमा उनले संघीयता अनुसारको प्रस्तुति तयार पारेकोमा राष्ट्र बैंकको अनुसन्धान विभाग र त्यसका प्रमुख नरबहादुर थापालाई धन्यबाद दिए । त्यसपछि गभर्नरलाई पनि धन्यबाद दिए । अनि आफ्नो कुरा सकिएको घोषणा गरे ।

‘गभर्नरसाप र तपाईंहरु सबैलाई लागेको थियो होला बडालजीले घन्टौं बोल्छ भन्ने तर मैले १० सेकेन्डभित्रै आफ्ना कुरा सिध्याएँ, मलाई छोटो बोल्न पनि आउँछ,’ बडालले ब्यङ्य गर्दै भने ।

बडालले यसो भनिरहँदा याक एण्ड यति होटलको त्यो हलमा उपस्थित भएका राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य कर्मचारीहरु, उद्योगी, व्यवसायी, बैंकर, पत्रकार लगायतका उपस्थित सबै गलल हाँसे ।

त्यसपछि गभर्नरले कार्यक्रम सकिएको घोषणा गरे ।


पुष्प दुलाल