अब गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमताका ठूला बस चल्ने



काठमाडौं । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ ।

सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो ।

बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ ।

सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले रु सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले १ करोड ९० लाख रुपैयाँ अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल—रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् ।

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ । रासस


पुष्प दुलाल