उत्पादनमुखी बजेट सार्वजनिक गर्ने तयारीमा कर्णाली प्रदेश



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५/७६ का लागि उत्पादनमुखी बजेट ल्याउने बताएका छन् । कर्णाली प्रदेशले असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

नियमित भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताए । उनले कृषि योग्य जमीन, उत्पादित वस्तुको पहिचान र जडीबुटीको यकिन तथ्याँक संकलन गर्ने भन्दै विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी स्रोतको खोजी गरिने समेत जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले जेठ २६ गते नै प्रदेश सरकारबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

लामो समयदेखि पारिश्रमिक, सेवा तथा सुविधा नलिई प्रदेश सरकारको सार्वजनिक पद धारण गरी काम गर्दै आएका सबैलाई संघीय सरकारले पठाएको मस्यौदाको आधारमा हालका लागि पारिश्रमिक, सेवा तथा सुविधा उपलब्ध गराइने जानकारी पनि उनले दिए ।

कर्णालीलाई डिजिटल तथा प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य रहेको बताउँदै उनले आफ्नो सोच, व्यवहार र दिमाग बदल्न प्रदेशवासीलाई आग्रह पनि गरेका छन् ।


पुष्प दुलाल