ब्याजदरमा बैंकर्स संघको सिण्डीकेट सकियो, एनआइसी एशियाले निक्षेपकर्तालाई १२% ब्याज दिने



काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुले दिने ब्याजदर खुल्ला छाडेको छ । भद्र सहमतिका नाममा ब्याजदरमा कार्टेलिङ गर्दै आएको बैंकर्स संघले अब भने ब्याजदर खुल्ला छाडेको हो ।

संघले ब्याजदर खुल्ला छाडेसँगै एनआइसी एशिया बैंकले निक्षेपकर्तालाई १२ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

ब्याजदरकै कारण अहिले सिस्टमेटिक सिस्क नहुने भएकाले ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई नै छाडिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘पहिले धेरै ब्याज दिँदा सिस्टमेटिक रिस्क देखियो भनेर केही नियन्त्रण गर्ने प्रयास गरेका थियौं, अब ब्याजदरकै कारण सिस्टमेटिक सिस्क छैन, बजारले नै ब्याजदर निर्धारण गर्छ,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने ।

गत फागुन तेस्रो साता बैंकर्स संघले ब्याजदरमा गर्दै बचतमा ८ र मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिन आफ्ना सदस्यहरुलाई सर्कुलर गरेको थियो ।

बैंकर्स संघको सर्कुलरको बेवास्ता गर्दै एनआइसी एशिया बैंकले फागुन २५ गते बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो ।

तर, अधिकांस बैंकका सीइओहरुले जथाभावी ब्याज बढाएर बैंकिङ प्रणालीमा प्रणालीगत जोखिम निम्त्याएको भन्दै एनआइसी एशियासँग कारोबार नगर्ने निर्णय गरेका थिए । बैंकरहरुको यो सिण्डीकेटसामू एनआइसी एशिया बैंक झुक्न बाध्य भएको थियो ।

अहिले फेरि एनआइसी एशिया बैंकले धनवर्षा नामक मुद्दति निक्षेप योजना ल्याएर निक्षेपकर्तालाई १२ प्रतिशत ब्याज दिने घोषणा गरेको हो ।

बैंकिङ प्रणालीमा अहिले पनि लगानी योग्य पुँजी (तरलता) सहज भइसकेको छैन । जसकारण फेरि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा बढ्ने देखिन्छ ।

ब्याजदर बढाउन बैंकहरुले प्रतिस्पर्धा गर्दा निक्षेपकर्तालाई फाइदा हुन्छ । तर ऋणीहरु भने ऋण लिएर थप लगानी विस्तार गर्न निरुत्साहित हुन्छन् ।


पुष्प दुलाल