ट्रम्प र किमको वार्ताको खर्च मात्रै एक अर्ब ५२ करोड



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा शिखर वार्ता हुँदै छ ।

वार्ताका लागि दुई देशका बाहलवाला प्रमुख सिंगापुर पुगिसकेका छन् । यो वार्तामा धेरै विषयमा सहमति हुने विश्वास लिइएको छ । तर यो वार्ताको अर्को एउटा पाटो छ, त्यो हो खर्च ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार वार्ताको खर्च मात्रै एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । त्यो भनेको नेपाली मुद्रामा करिब एक अर्ब ५२ करोड बराबर हो ।

विश्व शान्तिका बीच हुन लागेको यो पहिलो वार्तामा के कति खर्च हुन्छ भन्ने भन्दा पनि परिणाम के निस्कन्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सञ्चार माध्यर्र्म एफपीले जनाएको छ ।

शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्योहोर्न आफू तयार रहेको जनाएको छ ।

खर्चको ५० प्रतिशत हिस्सा सुरक्षाका लागि छुट्याएको छ । विशेष गरी गोर्खा सैनिकले पहिलो घेरामा रहेर वार्ता स्थलको सुरक्षा गर्नेछन् ।

अन्तर्राष्ट्रिय शान्तिको लागि भएको पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिंगापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ ।

सिंगापुर र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध समेत लामै रहेको थियो । तर उत्तरले आणविक कार्यक्रम अगाडि बढाएको भन्दै उसले सो सम्बन्धबाट हात झिक्ने निर्णय गर्यो ।

तर पछिल्लो पटक वार्ताका लागि ट्रम्प र उनले सिंगापुर नै रोजेपछि सिंगापुरका विदेश मन्त्री प्योङयाङ पुगे र मित्रताको हात बढाए । दुई देशबीच लामो समयदेखि व्यापार, वाणिज्यमा समेत राम्रो सम्बन्ध रहेको थियो । दुई राष्ट्रप्रमुखको वार्तापछि त्यसमा अझै विस्तार हुने उनीहरुले विश्वास लिएका छन् ।

कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय वाताृको प्रमुख मुद्दा हुनेछ । जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भनेका छन् ।

कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका थिए । यदि सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्नेछ– किमले विमानस्थलबाट उत्रिएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भने ।

त्यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर पुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न पुग्नुभएका सिङ्गापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताएका थिए । दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेका छन् ।


क्लिकमान्डु