केपी ओलीको नाम नलिई नेकपाका सांसदले भने- तमोर किन चिनियाँ कम्पनीलाई



काठमाडौं । पश्चिम सेती , बुढीगण्डकी र माथिल्लो कर्णाली जस्ता राष्ट्रिय महत्व एवम् रणनीतिक हिसाबले समेत प्रभावकारी मानिएका जलविद्युत् आयोजना विदेशी कम्पनीलाई दिइएको र कुनै पनि काम नभएको भन्दै संघीय संसद्मा कुरा उठन थालेको छ ।

यद्यपी बुढीगण्डकी जलविद्युत् आयोजना सरकार आफैले निर्माण गर्ने जनाएको छ ।

पछिल्लो पटक पूर्वको ‘सुनको अण्डा पार्ने कुखुरा’ को रुपमा परिचित तमोर जलाशयुक्त आयोजना चीनको सिचुवान इनर्जीलाई दिन लागिएको भन्दै संसद्मा सो विषयले प्रवेश पाएको हो ।

प्रतिपक्षी दलको सांसद नभई सत्तारुढ नेकपाका सांसद भवानीप्रसाद खापुङले नै तमोर जलाशयुक्त आयोजना विदेशी कम्पनीलाई दिएर माथिल्लो कर्णाली, पीश्चम सेती जस्तै बनाउन खोजिएकोमा आपत्ति प्रकट गरे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्व एमालेका तर्फबाट तेह्रथुमबाट निर्वाचित एक सांसदले सरकारको रवैयाको कडा आपत्ति जनाए ।

उनले आयोजना स्वेदेशी लगानीमा नै निर्माण गर्नुपर्ने, विदेशी कम्पनीलाई कुनै पनि हालतमा दिन नहुने तथा नेपालको राष्ट्रिय हितलाई ख्याल गर्नुपर्ने जस्ता विषय अगाडि सारेका छन् ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम जिल्लाको आर्थिक समृद्धिको आधार बन्न सक्ने सो आयोजनालाई सरकारले लगानी बोर्ड मार्फत चिनियाँ कम्पनी सिचुवान इलेक्ट्रिकलाई दिन लागेको भन्दै खापुङले आपत्ति प्रकट गरे ।

बुढीगण्डकीमा करिब ६० हजार स्थानीय बासिन्दा उठाउनुपर्ने, हजारौ हेक्टर खेतीयोग्य जमिन पानीमुनी पर्ने जस्ता समस्या रहेको र मुआब्जा मात्रै ६३ अर्ब वितरण गर्नुपर्नेमा तमोरमा मात्रै १७५ घर उठाए हुने देखिएको छ । तर तल्लो हेवा र बुटवल पावरले निर्माण गरिरहेको काबेली ए जलविद्युत् आयोजनालाई भने डुबाउनुपर्ने देखिएको छ ।

कूल ७६२ मेगावाट क्षमताको सो आयोजनाको हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । क्षमता ७६२ मेगावाट भएपछि विद्युत् विकास विभागले आयोजनाको अध्ययनका लागि प्राधिकरणलाई २५२ मेगावाटको मात्रै स्वीकृति दिएको छ । तर अध्ययन कार्य अगाडि बढ्न सकेको छैन ।

प्रदेश नम्बर– १ का लागि सबैभन्दा महत्वपूर्ण मानिएको तमोर जलाशययुक्त आयोजना ७६२ मेगावाटमै बनाउनुपर्छ । स्वदेशी लगानीमा नै बनाउनुपर्छ । पश्चिम सेती र माथिल्लो कर्णाली बनाउन पाइदैन’ सांसद खापुङले भने ।

विभागले ३७.५ मेगावाटको काबेली ए र २१.२ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनालाई लाइसेन्स दिएको छ । ती आयोजना निर्माणको क्रममा रहेका छन् ।

विस्तृत अध्ययनमा आयोजनाको क्षमता ८ सय मेगावाट पुग्ने प्राधिकरणको भनाइ छ ।

पाँचथर र तेह्रथुम जिल्लाको सीमानामा बन्ने सो आयोजनाले तीन जिल्ला सदरमुकाम जोडनका लागि जलयातायात समेत सञ्चालन गर्न सकिनेछ ।

करिब ४० किलोमिटर बराबरको ताल बन्ने भएकाले पर्यटन प्रवद्र्धन तथा जलयात्राका लागि समेत आयोजना प्रभावकारी हुने देखिएको छ ।

वार्षिक रूपमा ३३ सय ५४ गिगावाट आवर विद्युत् उत्पादन गर्ने आयोजनाले हिउँदमा ११ सय गिगावाट आवर बिजुली उत्पादन गर्ने छ । सो आयोजनालाई बुढीगण्डकी भन्दा आर्कषक आयोजनाको रुपमा लिइन्छ ।


क्लिकमान्डु